आइसीसी टी–२० विश्वकप छनोट नेपालको विश्वकप सपना सकियो

सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपनामा धक्का लागेको हो

जनसम्मत
श्रावण १५, २०७६, बुधबार

पोखरा । सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको टी–२० विश्वकप सपना यो संस्करणका लागि सकिएको छ ।

आइसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी–२० विश्वकप खेल्ने नेपालको सपनामा धक्का लागेको हो ।

यस हारसँगै नेपाल विश्वकपको ग्लोबल छनोटमा समेत पुग्न असफल रह्यो । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ । सिंगापुरले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायर खेल्ने भएको छ ।

इण्डियन एशोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटिन पुग्यो । उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल हार्न पुग्यो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो ।

फाइनलसरह रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरबिरुद्ध नेपाली बलरहरु प्रभावहीन बने । अविनाश बोहोराले अन्तिम ओभरतिर ४ विकेट झारेपनि अन्य सबै खेलाडीहरु महंगा बने । सुपरस्टार स्पिनर सन्दीप लामिछाने र बसन्त रेग्मीले ४ ओभरमा ५० रन खान पुगे ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पूरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो । सिंगापुरले सुरुवातदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । दोस्रो ओभरमा ओपनर सुरेन्द्रन चन्द्रमोहनलाई गुमाएपनि त्यसपछि आएका टिमोथी डेविडले अर्का ओपनर रोहन रंगराजनसँग मिलेर दोस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । १० दशमलव ४ ओभरमा रंगराजनलाई अविनाश बोहोराले ४९ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।

चौथो नम्बरमा ब्याटिङमा आएका मनप्रित सिंहसँग मिलेर डेविडले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरे । डेविडले ४३ बलमा ८ चौका र ३ छक्काको सहयोगमा ७७ रन बनाए । मनप्रितले २७ बलमा ४२ रन जोडे । सिंगापुरले अन्तिम ३ ओभरमा ४ विकेट गुमाएको थियो । नेपालका लागि अविनाशले ४ ओभरमा ३५ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ विकेट झारे ।

ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले २७ रनको साझेदारी गरे । सिंगापुरका कप्तान अम्जाद मेहवुवको बलमा ठूलो शट प्रहार गर्दा पारस मेडन क्षेत्रमा क्याच आउट भए । उनले १० बलमा १ चौका र १ छक्कासहित १२ रन मात्रै जोडे । त्यसपछि, आएका शरद भेषावकरसँग मिलेर ज्ञानेन्द्रले थप २७ रनको साझेदारी गरे । सेलाडोर विजयकुमारको बलमा बोल्ड हुनुअघि ज्ञानेन्द्रले २१ बलमा ३९ रन जोडे ।

नेपालले सातौं, आठौं र नवौं ओभरमा लगातार विकेट गुमायो । ज्ञानेन्द्र आउट भएको अर्को ओभरमा अनन्था कृष्णाले शरद भेषावकरलाई आउट गराए । उनले ११ बलमा ७ रनमात्र बनाउन सके । यू–१९ कप्तान रोहितकुमार पौडेललाई विजयकुमारले ५ रनको ब्यक्तिगत स्कोरमा कट एन्ड बोल्ड गरे ।

विजयकुमारले ११ औं ओभरमा २ विकेट झारे । १० दशमलव २ ओभरमा विकेटकिपर ब्याट्सम्यान विनोद भन्डारी ९ रनको स्कोरमा आउट गराएका उनले १० दशमलव ४ ओभरमा करण केसीलाई पनि पेविलियनको बाटो देखाए । करणले खाता खोल्नै सकेनन् ।

१३ दशमलव २ ओभरमा सोमपाल कामी दुर्भाग्यबस रन आउटको शिकार भए । नेपाल १००–७ को नाजुक स्थितिमा पुग्यो । त्यही ओभरको पाँचौं बलमा सन्दीप लामिछाने पनि आउट भए । १५ औं ओभरको पाँचौं बलमा दीपेन्द्रसिंह ऐरी २२ रनको स्कोरमा आउट भए । त्यसपछि, नेपालको झिनो आशा पनि समाप्त भयो । नेपाल १५ ओभरमा १०९ रनमै अलआउट हुन पुग्यो ।

आयोजकको गंभीर त्रुटी

नेपाललाई जित्नै पर्ने दबाब रहेको खेलमा सिंगापुर विजयी हुँदै ग्लोबल क्वालिफायरमा पुगेछि नेपाली टोलीले लज्जाबोध गर्र्नुप¥यो । प्रतियोगिता सकिएपछि समापन समारोहमा नेपालले थप अर्को लज्जा बोध गर्नुप¥यो । सिंगापुर क्रिकेट एशोसियसनले नेपाललाई उपविजेताको पदक लगाइदिसकेपछि कतारका पदाधिकारीले विरोध गरे ।

नेपाली टिमका सदस्यलाई पनि नेपाल के भयो भन्ने जानकारी थिएन । यो जानकारी आयोजकले नराख्दा सानो विवाद समेत बन्यो । रन रेटमा नेपालभन्दा कतार अघि रहेको अवस्थामा किन नेपाललाई उपविजेताको पदक दिइयो भन्ने प्रश्न गरेपछि आयोजक पनि सतर्क बन्यो । त्यसपछि कतारलाई उपविजेता घोषणा गरियो ।

नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली सदस्यबाट मेडल बटुलेर आयोजकलाई दिए । आयोजकले यो मेडल कतार क्रिकेट संघका पदाधिकारीलाई हस्तान्तरण गरेका थिए ।

आइसीसी टी–२० विश्वकप छनोटको अन्तिम खेलमा सिंगापुरसँग पराजित भएर नेपाल ग्लोबल क्वालिफायरमा पुग्न सकेन । सिंगापुर र नेपालबीचको खेल नै यो प्रतियोगिताको अन्तिम खेल थियो ।