भदौको दोस्रो हप्ताबाट अन्तर विद्यालय ब्याडमिन्टन

तीन तहमा छात्र, छात्राको एकल र डबल्स गरी १२ इभेन्टमा खेलहरु हुने छन्

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । आगामी भदौको १० गतेदेखि १४ गतेसम्म १८ औं संस्करणको कास्की जिल्ला स्तरीय ईन्द्रबहादुर गुरुङ स्मृति अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगिता हुन लागेको आइतवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

विद्यालय स्तरका विद्यार्थीहरुको ब्याडमिन्टनप्रति अभिरुची राख्न र खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले १७ औं संस्करणसम्मको प्रतियोगिता सम्पन्न गरिसकेको संघका अध्यक्ष डम्मरसिंह गुरुङले बताए । यसअघिका प्रतियोगिताहरुबाट ब्याडमिन्टन विद्यालयस्तरका ब्याडमिन्टन खेलाडीहरु उत्पादन गरेको गुरुङको दाबी थियो ।

प्रतियोगितामा विद्यालय स्तरको आधारभूत तह (कक्षा ८ सम्म), माध्यामिक तह (कक्षा १० सम्म) र उच्च माध्यामिक (कक्षा १२ सम्म) गरी तीन तहमा छात्र, छात्राको एकल र डबल्स गरी १२ इभेन्टमा खेल हुने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगिताको सवै इभेन्टका विजेता खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार रहेको छ । छात्रछात्रा दुबैतर्फ उत्कृष्ट खेलाडीले स्पोटर््स साइकलको पुरस्कार पाउनेछन् । उदीयमान खेलाडीलाई ट्रफी र प्रमाणपत्र पुरस्कार रहेको छ ।

अनुशासित, प्रतियोगिताहरुमा सवैभन्दा बढि सहभागी खेलाडी, उत्कृष्ट पोशाक र उत्कृष्ट विद्यालयलाई ट्रफी पुरस्कार रहेको प्रतियोगिता संयोजक बबिन बाग्दासले जनाए ।

ब्याडमिन्टन वल्र्ड फेडेरेशनको नियम अनुसार संचालन गरिने प्रतियोगितामा प्लाष्टिक सट्टल ककको प्रयोग गरिने जनाइएको छ । विद्यालयले इभेन्ट अनुसार खेलाडी दर्ता गर्नुपर्नेछ । कक्षा १२ सम्मको इभेन्टमा सहभागी खेलाडीहरु १२ कक्षा अध्ययनरत् हुनुपर्ने प्रावधान छ । प्रत्येक खेलाडीको अनिवार्य पोशाक हुनुपर्नेछ । भदौको ६ गते खेलाडी दर्ताको अन्तिम मिति तोकिएको छ । भदौको ८ गते टाइसिट प्रकाशित गर्ने बताइएको छ । प्रतियोगितामा सहभागी निजी विद्यालयका छात्रछात्रा सिंगल्सतर्फ २ सय र डबल्सतर्फ ४ सय दर्ता शुल्क तोकिएको छ । सामूदायिक विद्यालयका सहभागी खेलाडीहरुको हकमा भने दर्ता शुल्क नलाग्ने संयोजक बाग्दासले जानकारी दिएका छन् ।