थाइल्याण्डमा आदिवासी जनजाति चलचित्र अवार्ड वितरण

२७ भदौमा थाइल्याण्डको फुकेट सहरमा विभिन्न १७ वटा विधामा उत्कृष्ट ३ छानेर १ लाई अवार्ड वितरण गरिनेछ

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । हुकुम मल्टिमिडियाको आयोजनामा थाइल्याण्डमा आदिवासी जनजाति फिल्म अवार्ड हुने भएको छ ।

आदिवासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड पहिलो पटक हुन लागेको पोखरामा पत्रकार सम्मेलन गरी आयोजकले जनाएको हो ।

‘ज्योमो गांग फिल्म अवार्ड’ नाम दिइएको सो अवार्ड २७ भदौमा थाइल्याण्डको फुकेट सहरमा हुनेछ । ‘यसअघि जाति विशेषका फिल्महरुको अवार्ड कार्यक्रम भएपनि समस्त आदिवासी जनजाति समुदायलाई नै समेट्ने गरी फिल्मको अवार्ड कार्यक्रम हुन लागेको यो पहिलोपटक नै हो । त्यसैले यो ऐतिहासिक शुरुवात पनि हो,’ हुकुम मिडियाका संचालक डि.बि. बम्जनले पत्रकार सम्मेलनमा भने ।

‘भाषिक तथा जातीय फिल्मका लागि गुरुङ फिल्म उद्योग नम्बर एक हो । त्यसैले यहाँका फिल्मकर्मीको बाक्लो सहभागिता होस् भन्ने हामी चाहन्छौँ,’ बम्जनले भने, ‘त्यसैले हामी पोखरासम्म आइ पुगेर यहाँका फिल्मकर्मीहरुलाई अवार्डका लागि फिल्म दर्ता गराउन आह्वान गरिरहेका छौँ ।’

अवार्ड विवादरहित बनाउने गरी जुरी मेम्बर छनौट गरिने आयोजकले जनाएको छ । विभिन्न १७ वटा विधामा उत्कृष्ट ३ छानेर १ लाई अवार्ड वितरण गरिनेछ ।