चलचित्र ‘जाइरा’ को आइटम गीत सार्वजनिक

‘यो मात चढेको साँझ’, सन् १९७४ मा निर्माण गरिएको चलचित्र ‘मनको बाँध’को गीतलाई रिमेक गरिएको हो

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । चलचित्र ‘जाइरा’को आइटम गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक ‘यो मात चढेको साँझ’ बोलको गीत गायिका मिना निरौलाले गाएकी हुन् । गीतमा तनुजा गुरुङको नृत्य र गोबिन्द राईको कोरियोग्राफी रहेको छ ।

‘यो मात चढेको साँझ’, सन् १९७४ मा निर्माण गरिएको चलचित्र ‘मनको बाँध’को गीतलाई रिमेक गरिएको हो । ‘मनको बाँध’ को उक्त गीतमा मिरा राणाको स्वर, किरण खरेलको शब्द र शिव शंकरले संगीत भरेका थिए । ‘जाइरा’मा समावेश रिमेक भर्सनमा फिरोज बज्राचार्य र डिजे राजुले रि–एरेञ्ज गरेका हुन् ।

आशुतोषराज श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन् । चलचित्रमा नम्रता श्रेष्ठ, अनुपबिक्रम शाही, प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सृजना रेग्मी, सुजाता श्रेष्ठ, सम्राट मगरलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा नम्रता मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन् ।

चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, बाबु श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन रहेको छ । कटामरी फिल्मस्को ब्यानरमा निर्माण गरिएको चलचित्रलाई नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत गरिएको हो । चलचित्रका कार्यकारी निर्माता प्रशन्न गोपाली हुन् ।