१३ औं साग तयारी, काठमाण्डौं, ललितपुर र पोखरामा २७ खेलहरु

सागका अधिकांश खेलहरु काठमाडौं र ललितपुरमा हुनेछन्, महिला फुटबलसहित सात वटा खेलहरु पोखरामा हुनेछन्

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । आगामी मंसिरको १५ देखि २५ गतेसम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का खेलहरु काठमाडौं, ललितपुर र पोखरामा सञ्चालन गरिने भएको छ ।

सागमा समावेश २७ खेलहरु छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत साग प्राविधिक समितिले खेल स्थलको टुंगो लगाएको हो ।

राखेपका नवनियुक्त सदस्य सचिव रमेशकुमार सिलवाल, सागमा समावेश संबन्धित खेल संघका पदाधिकारी र राखेपको प्राविधिक टोलीले निरीक्षण गरेपछि खेल खेलिने स्थान पक्का गरिएको राखेपले जनाएको छ । टुंगो लागेको खेलस्थलको निर्माण, मर्मत सम्हार र रंग रोगनका काम धमाधम भइरहेका छन् ।

राखेपका सदस्य सचिव सिलवालले भौतिक संरचना र बजेट बिना साग नरोकिने प्रतिबद्धता जनाए । ‘साग अब कुनैपनि हालतमा रोकिन्न । सागका लागि आवश्यक खेल सामग्री र त्यसको खरिद प्रकिया फास्ट ट्र«याकबाट हुने बताइएको छ । आवश्यक बजेटका लागि प्रधानमन्त्रीदेखि अर्थ मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयसँग सबै प्रत्रिया अघि बढाइएको छ,’ सिलवालले उल्लेख गरे ।

सागका अधिकांश खेलहरु काठमाडौं र ललितपुरमा हुनेछन् । महिला फुटबलसहित सात वटा खेलहरु पोखरामा हुनेछन् । ललितपुरको सातदोबाटोको नवनिर्मित भवनमा कराते र बक्सिङ, तेक्वान्दो एकेडेमी भवनमा तेक्वान्दो र कुस्तीका खेल संचालन हुनेछ । सातदोबाटोमै सुटिङ, पौडी, स्क्वास, टेनिस खेलहरु हुनेछन् । उसु लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछन् ।

दशरथ रंगशालामा पुरुष फुटबल र एथलेटिक्सका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बास्केटबल र व्याटमिन्टनका खेल सञ्चालन गरिनेछ । लैनचौरमा रहेको टेबुलटेनिस हलमा टेबुलटेनिस, मुलपानी र कीर्तिपुर मैदानमा क्रिकेट, काठमाडौंको भृकुटी मण्डपमा खोखो र कबड्डीका खेलहरु खेलाउने राखेपले तयारी गरेको छ ।

गल्फ पार–७२ को गोकर्ण गल्फ कोर्समा हुनेछ । साइक्लिङ खेल जगडोलको सहिदपार्कमा हुनेछ । फेन्सिङ खेलको स्थल निक्र्योल हुन बाँकी रहेको राखेपले जनाएको छ । राखेपले इन्डोर गेम्सका कतिपय खेललाई नेपाल पुलिसको निर्माणाधीन कभर्डहल, आर्मीको कभर्डहल, भृकुटी मण्डप र त्रिपुरेश्वरको कभर्डहलमा खेलाउनल सकिने गरी सम्भावित खेलस्थलको रुपमा प्रयोग गर्ने तयारी गरिरहेको जनाएको छ ।

यसैगरी, राखेपले पर्यटकीय नगरी पोखरामा साग अन्तर्गत सातवटा खेल खेलाउने तयारी गरेको छ । पोखरामा रंगशलामा महिला फुटबल हुनेछ । रंगशालाको कभर्डहलमा आर्चरी, भलिबल र ह्यान्डबल हुनेछ । पोखरा सभागृहमा भारोत्तोलन, फेवाताल किनारमा ट्रायथलन र प्याराग्लाइडिङका खेलहरु हुनेछन् ।

राखेपले दशरथ रंगशालाको मुल गेटलाई मौलिक रुपमा निर्माण गरी गेट वरपर फूलसहितको बगैचा बनाउने तयारीमा छ । दशरथ रंगशालाको भिआइपी प्यारापिट बाहेक अन्य संरचनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको राखेपले जनाएको छ ।