साउनको १६ गतेदेखि सागको कराते खेलाडी छनोट प्रतिस्पर्धाका खेलहरु

प्रतिस्पर्धामा पुरुषतर्फ ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजी र महिलातर्फ ५५ केजी, ६० केजी, ६८ केजी र ६८ केजीमाथिका खेलाडीहरुले भाग लिन पाउनेछन्

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । साउनको १६ गतेबाट १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेको खेलाडी छनोटको प्रतिस्पर्धाका खेल हुने भएको छ ।

नेपालमा हुने साग गेमका लागि कराते खेलाडी छनोटको प्रतिस्पर्धाका खेलहरु नेपाल कराते महासंघले गर्ने भएको हो ।

कुमुतेको टिम इभेन्टतर्फ बन्द प्रशिक्षणमा सहभागी गराउन पुरुष तथा महिला खेलाडीको छनोट गर्न प्रतियोगिता आयोजना गर्न लागिएको महासंघले जनाएको छ । प्रतिस्पर्धामा पुरुषतर्फ ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ केजीमाथिका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।

त्यसैगरी, प्रतिस्पर्धाको महिलातर्फ ५५ केजी, ६० केजी, ६८ केजी र ६८ केजीमाथिका खेलाडीहरुले भाग लिन पाउनेछन् । यसबाहेक महासंघले अन्य आधारहरु समेत तोकेको छ ।

छनोट प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको पाँचौंदेखि सातौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडी, राखेप च्याम्पियनसीपका पदक विजेता, महासंघले आयोजना गरेको आधिकारिक राष्ट्रिय प्रतियोगिताका पदक विजेताले सहभागिताको अवसर पाउनेछन् ।

करातेका बाँकी स्पर्धाका खेलाडीहरु भने बन्द प्रशिक्षणमा समावेश भइसकेका छन् । टिम कुमुतेको आठौं राष्ट्रिय खेलकुदमा समावेश नभएकाले फरक छनोट गर्नुपरेको महासंघले जनाएको छ । पहिलो चरणमा पुरुषतर्फ १४ र महिलामा १० खेलाडी छनोट गरिनेछ ।

अन्तिममा पुरुषमा ७ तथा महिलामा ५ खेलाडी छनोट हुनेछन् । छनोट सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते एकेडेमी हलमा संचालन गरिने महासंघले बताएको छ ।