लमजुङको बेसीसहरमा बिमा र माया सहित ६ कलाकारहरु सम्मानीत

गायिका प्रीति गिरी, गायक टसबहादुर गुरुङ र अनुज अधिकारी र दोहोरी गायक प्रशान्त तामाङलाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । लमजुङमा वरिष्ठ लोक गायिकाद्वय विमाकुमारी दुरा र माया गुरुङलाई सम्मान गरिएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, लमजुङ जिल्ला समितिको सातौं जिल्ला अधिवेशनको उदघाटनमा गायिकाद्वयलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा वरिष्ठ लोक गायिकाद्वय सहित आधादर्जन गायक÷गायिकालाई सम्मान गरिएको हो । लमजुङ घर भएका लोकगायिकाद्वय दुरा र गुरुङले गायनको क्षेत्रबाट अमूल्य योगदान पु¥याउँदै जिल्लालाई बाह्य क्षेत्रमा चिनाउन र लोकगीतको प्रवद्र्धनका क्षेत्रमा समेत योगदान गरेकोले सम्मान गरेको प्रतिष्ठानले जनाएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपाध्यक्ष तथा चर्चित गायक पशुपति शर्मा, बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल र प्रतिष्ठानको जिल्ला कार्य समितिका अध्यक्ष दिपक पौडेलले गायिकाद्वयलाई टीका, पछ्यौरा ओढाएर र सम्मानपत्र सहित सम्मान गरेका हुन् । दुवै जनाले लामो समयदेखि गायन क्षेत्रमा आवद्ध रही आजपर्यन्त सक्रिय छन् ।

माया गुरुङले २०४५ सालमा रेडियो नेपालले आयोजना गरेको लोकगीत प्रतियोगितामा ‘गाउँशहरमा लमजुङ दरबार, मायालाई दिने थिए फूलजस्तो जोवन भइसक्यो मेरो घरबार’ बोलको गीत गाएर राष्ट्रियस्तरमा प्रथम भई राष्ट्रिय व्यक्तित्व बनाउन सफल भएकी हुन् । उनका ६ दर्जन बढी गीत रेकर्ड भएका छन् ।
त्यस समयदेखि माया गुरुङले आजका दिनसम्म पनि लायनलाई निरन्तरता दिदै आएकी छन् । माया गुरुङको घर बेसीशहर नगरपालिका–५ नाल्मा गाउँमा रहेको छ ।

त्यस्तै, बिमाकुमारी दुराको सुन्दरबजार नगरपालिका–११ को ऐतिहासिक थलो दुराडाँडाको सिंदुरेस्थित तुर्लुङकोट घर हो । २०५१ सालदेखि गायन क्षेत्रमा उत्रिएकी दुराले ‘तुर्लुङकोटमा हावा सरर’ लगायतका कर्णप्रिय गीत गाएर राष्ट्रिय छवि निर्माण गरेकी छन् । उनीहरूले गायनको क्षेत्रबाट जिल्लालाई नेपाल र देश बाहिर समेत चिनाउने काममा योगदान दिएको भन्दै सम्मान गरिएको प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष अधिकारीले बताए ।

सोही अवसरमा जिल्लाबाट लोकदोहोरी प्रतियोगितामा सहभागि भई पटक–पटक पुरस्कार जितेर जिल्लाको शीर उचो बनाउन सफल गायिका प्रीति गिरी, गायक टसबहादुर गुरुङ र अनुज अधिकारीलाई सम्मानपत्रका साथ सम्मान गरिएको थियो ।

यसैगरी, लमजुङका प्रतिभाशाली लोक तथा दोहोरी गायक प्रशान्त तामाङलाई सम्मान गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका जिल्ला अध्यक्ष दीपक पौडेलले बताए । उनका अनुसार प्रतिष्ठानले अग्रजलाई सम्मान र नव प्रतिभालाई प्रोत्साहन दिँदै आएको जनाएको छ ।