गण्डकी प्रदेशस्तरीय कराँते तयारी १२ तौल समूहमा प्रतिस्पर्धा

प्रतियोगितामा कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, गोर्खा लगायतका जिल्लाका खेलाडी सहभागी हुनेछन्

जनसम्मत
श्रावण १६, २०७६, बिहीवार

पोखरा । क्योकुशिन कान कराँते संघ कास्की शाखाले आयोजनामा भदौमा दोस्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ ।

पोखरा रंगशलामा भदौको १३ र १४ गते आयोजना गरिने प्रतियोगितामा गण्डकी प्रदेशका नेपाल क्योकुशिन बुदोकाई कराँते संघमा आवद्ध भएका खेलाडीले मात्र भाग लिन पाउने प्रतियोगिता संयोजक दिपकबहादुर गोदारले जानकारी दिए ।

१२ तौल समूहमा महिला पुरुष गरेर २ सय खेलाडी सहभागी हुनेछन् । प्रतियोगितामा पुरुषतर्फ २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी ६० केजी मुनी तौल समूह र खुल्ला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । महिला तर्फ ४० केजी, ४५, केजी मुनी तौल समूह र खुल्ला तौल समूहका प्रतिस्पर्धा गोदारले जानकारी दिए ।

प्रत्येक तौल समूहको पहिलो दोस्रो र तेस्रोलाई शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिने गोदारले बताए । महिलातर्फ र पुरुष तर्फ गरी १/१ जनालाई उत्कृष्ठ खेलाडी घोषण गरिनेछ । उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था रहेको क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष बेलबहादुर थापाले जानकारी दिए । प्रतियोगितामा कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, गोर्खा लगायतका जिल्लाका खेलाडी सहभागी हुने उनले बताए ।

प्रतियोगिता सम्पन्न गर्न संघले विभिन्न उपसमितिहरु गठन गरेको छ । प्रतिगोगिता संचालनको लागि ५ लाख खर्चको अनुमान गरिएको छ । करीव ५ लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । यस प्रतियोगिताले स्थानीय स्तरबाट नै कराँते खेलाडी उत्पादनको लागि सहयोग गर्ने विश्वास लिइएको छ ।