ग्लोबल टी–२० क्रिकेटमा विनिपेगले टोरन्टोलाई हरायो

जारी लिगमा सोमपाल कामी विनिपेग र सन्दीप लामिछाने टोरन्टोमा आबद्ध छन्, उनीहरु ति क्लबहरुको व्यवसायिक खेलाडीहरु हुन्

एजेन्सी
श्रावण १६, २०७६, बिहीवार

क्यानडामा जारी ग्लोबल टी २० क्रिकेट लिगमा विनिपेग हक्सले टोरन्टो नेशनल्सलाई तीन विकेटले पराजित गरेको छ ।

जारी लिगमा सोमपाल विनिपेग र सन्दीप टोरन्टोमा आबद्ध छन् । उनीहरु ति क्लबहरुको व्यवसायिक खेलाडीहरु हुन् ।

क्यानडामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टोले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय १६ रन बनाएको थियो । भारतीय खेलाडी युवराज सिंहको कप्तानीमा रहेको टोरन्टोले सन्दीपलाई आइतबारको खेलमा बेञ्चमा राखेको थियो । यही खेलका लागि सन्दीप र सोमपाल सिंगापुरबाट टी–२० विश्वकपको एसिया छनोट सकिएको केही समयपछि नै क्यानडा उडेका थिए ।

टोरन्टोका लागि रोड्रिगो थोमसले ६५ रन बनाए । युवराज सिंहले ४५ तथा कायरन पोलार्डले विस्फोटक ५२ रन बनाए । पोलार्डले २१ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । बलिङमा ड्वायन ब्राभोले ४ विकेट लिए ।

जवाफमा सोमपालको टिम विनिपेगले २० ओभरमा सात विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । उसका शीर्ष तीन खेलाडीले मात्र दोहोरो अंक बनाएर पनि जित निकाल्यो । उसका लागि क्रिस लियोनले विस्फोटक ८९ रन बनाए । जसमा उनले ४८ बलमा २ चौका र १० छक्का प्रहार गरे ।

यस्तै, सेइमन अनवरले ४३ तथा सन्नी सोहलले ५८ रन बनाए । उसको जितमा सन्नी सोहल र क्रिस लियोनबीचको शतकीय साझेदारी नै जितको आधार बन्यो । दोस्रो विकेटका लागि लियोन र सोहलबीच एक सय १७ रनको साझेदारी थियो ।

यस खेलमा सोमपाल पनि बेञ्चमै थिए । यस जितसँगै विनिपेगले ३ खेलमा ४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा उक्लिएको छ ।