आउदी कप फुटबलको फाइनलमा घरेलु बायर्न म्युनिख र टोटेह्याम

प्रि–सिजन टूर अन्तर्गत एट्लेटिको मड्रिडँग ७–३ को फराकिलो अन्तरले हारेको रियलले अर्को पराजय बेहोरेको छ

एजेन्सी
श्रावण १६, २०७६, बिहीवार

प्रि–सिजन टूर अन्तर्गत जर्मनीमा जारी आउदी कप फुटबल प्रतियोगिताको उपाधिका लागि घरेलु वायर्न म्युनिख र बेलायती क्लब टोटेनह्याम फाइनल खेल्ने भएका छन् ।

बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरेनामा जारी प्रतियोगिताको उपाधिका लागि टोटनह्यामले बायर्नको सामना गर्नेछ ।

घरेलु बायर्नले टर्कीको फेनरबाचेलाई ६–१ गोलको फराकिलो अन्तरले हराउँदै फाइनल पुगेको हो । टर्कीको फेनरबाचेलाई पराजित गर्न जर्मन च्याम्पियन बायर्नका लागि थोमस मुलरले ह्याट्रिक गरे । बायर्नले ५ गोल पहिलो हाफमा गरेको थियो ।

रेनाटो सान्चेसले २२ औं मिनेटमा बायर्नका लागि पहिलो गोल गरेका थिए । २२ मिनेटको बीचमा बायर्नले ५–० को अग्रता लिएको हो । २८ औं मिनेटमा लियोन गोरेट्जकाले गोल गरे भने किङ्स कोमनले ४० औं मिनेमा गोल गरेका थिए ।

थोमस मुलरले खेलको ३१ औं मिनेटमा र ४४ औं मिनेटमा पेनाल्टीमा गोल गरी पहिलो हाफमा ५–० को अग्रता बनाए । दोस्रो हाफमा दुवै टोलीबाट एक/एक गोल भयो । ५८ औं मिनेटमा मुलरले ह्याट्रिक पूरा गर्दा फेनरबाचेका म्याक्स क्रुजले ६४ औं मिनेटमा एकमात्र सान्त्वना गोल फर्काए ।

त्यसैगरी, अर्को खेलमा टोटनह्यामले रियल मड्रिडलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । एलियान्ज एरेनामा टोटनह्यामलाई जित दिलाउन कप्तान ह्यारी केनले २२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । प्रि–सिजन टूर अन्तर्गत एट्लेटिको मड्रिडँग ७–३ को फराकिलो अन्तरले हारेको रियलले अर्को पराजय बेहोरेको हो ।