साउनको अन्तिम साता कलेजस्तरीय कप फुटसल

१०+१ देखी स्नातक सम्मका विद्यार्थी खेलाडीहरुले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउनेछन्

जनसम्मत
श्रावण १७, २०७६, शुक्रबार

पोखरा । पोखरामा इन्टरकलेज हिमाअज कप–२०१९ फुटसल प्रतियोगिता हुने भएको छ ।

एसटी क्रियशन म्यानेजमेन्ट प्रालीले साउनको ३१ गतेदेखि भाटभटेनीस्थित सुपर मार्केटको पोखरा स्काई स्पोर्ट्समा फुटसलको आयोजना गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ । एपी इन्टेरटेन्मेण्ट पनि आयोजक सँस्थाका रुपमा रहेको छ ।

प्रतियोगिताका विजेताले २० हजार, उपविजेताले १० हजार, उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीले समान १ हजार ट्रफी र अवार्ड पाउनेछन् । प्रतियोगितामा सहभागी हुनका लागि फारम हिमाअज एजुकेशन कन्सलटेन्सी, न्युरोड र दि मुग्लान रेष्टुरेन्ट एण्ड बार, सभागृहचोकमा पाइने आयोजक एसटी क्रियशनले जानकारी गरायो ।

प्रतियोगिता बिहानको ९ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ । प्रतियोगितामा टिम दर्ता शुल्क रु २५०० राखिएको छ । फुटसलमा सहभागीले आवेदन फारम श्रावण २९ गतेसम्म भरिसक्नुपर्नेछ । प्रतियोगितामा सहभागी टिममा संख्या ८ जना हुनुपर्ने अनिवार्य छ ।

फुटसल प्रतियोगितामा पोखराका ३० कलेजको सहभागी रहने अपेक्षा गरिएको छ । १०+१ देखी स्नातक सम्मका विद्यार्थी खेलाडीहरुले मात्र उक्त प्रतियोगितामा भाग लिन पाउनेछन् ।

सौन्दर्य प्रतियोगितासँगै खेलकुदका कार्यक्रम पनि प्रालिले संचालन गर्ने भएको प्रबन्ध निर्देशक सुरज थापाले बताए । ‘खेल क्षेत्रमा पनि आबद्ध रही सेवा गरौ भन्ने हाम्रो उद्देश्य पहिले देखिनै थियो,’ उनले भने, ‘बल्ल आज आएर पुरा भएको छ ।’

प्रतियोगिताका खेल संयोजक एवम एपी इन्टरटेन्मेण्टका निर्देशक अर्जुन पाण्डेले हिमाअज एजुकेशन एण्ड कन्सलटेन्सीको प्रचारप्रसार सहित पोखरामा फुटसलको फिवर बढाउने लक्ष्य राखेर हामीले यो कार्यक्रमको आयोजना गर्न लागेका बताए । यसबाट एक कलेजसँग अर्को कलेजका विद्यार्थीहरुबिच प्रत्यक्ष भेटघाट सहित परिचय पनि हुने पाण्डेको भनाई थियो ।