पोखरा महानगरपालिका–२८, कालिकाको ठूलाकोटमा विशेष गुरु योजनासहित पूजा र प्रवचन गरिदैं

जनसम्मत
चैत्र २८, २०७५, बिहीवार

पोखरा, । पोखरा महानगरपालिका–२८ कालिकास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ठूलाकोटमा विशेष पूजा र प्रवचन हुने भएको छ ।

ऐतिहासिक परापूर्व कालदेखि नै धार्मिक र पर्यटकीय क्षेत्रका हिसावले चर्चा पाएपनि प्रचार प्रसारको कमी र सही किसिमले विकास निर्माणका काम अगाडि वढ्न नसक्दा ओझेलमा परेको ठूलाकोटको विकासका लागि गुरुयोजना बनाएर अगाडि वढ्ने भएको हो ।

ठूलाकोटको ऐतिहासिक र धार्मिक महत्ववारे जानकारी दिने उद्देश्यले विहिवार उक्त कोट परिसरमा राखिएको पत्रकार सम्मेलनमा यस क्षेत्रको बिकासका लागि २० वर्षीय गुरुयोजना बनाएर अगाडि वढ्ने जानकारी गराइएको हो ।

यही चैत ३० गते रामनवमीको दिन पारेर ठूलाकोटमा रहेको कालभैरब मन्दिर क्षेत्रको ऐतिहासिक, धार्मिक, पर्यटकीय तथा सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले पूजा–आजा तथा प्रवचनको कार्यक्रम राखिएको वडाध्यक्ष निर्मल दियालीले बताए।

बाइसे–चौविसे राजाको पालादेखि नै चर्चामा रहेको ठूलाकोटबाट प्राकृतिक हिमश्रृंखला, पोरखराको रमणीय दृश्यावलोकन र एकै ठाउँबाट कास्कीका सवै तालहरु देख्न सकिने भएकाले यस क्षेत्रको विकास गर्नु हामी सवैको कर्तब्य भएकाले भौतिक पूर्वाधार निर्माण गरी अगाडि वढ्ने साेंचका साथ अगाडि वढेको अध्यक्ष दियालीको भनाई थियो ।

दियालीले पोखराबाट १५ किलोमिटरको दूरीमा रहेरपनि प्रर्याप्त पूर्वाधार नहुँदा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन आउन नसकी रहेको अवस्थामा सवैको साथ र सहयोगले यस क्षेत्रको बिकासका लागि अगाडि वढ्ने प्रतिवद्धता जनाए ।

पोखराबाट करीब १५ किमी दूरीमा रहेको ठूलाकोटको विकासका लागि यसको पृष्ठभूमि सहितको अवधारणापत्र, गुठीको जग्गा सम्वन्धमा खोजी नीति तथा धार्मिक पर्यटन विकास समिति गठन गरी विकासको गुरुयोजना निर्माण गरिने अर्घौ ठूलाकोट काल भैरव मन्दिर संरक्षण समितिका संयोजक ऋषिराम त्रिपाठीले जानकारी दिए ।

राज कुलमण्डल शाहको पालादेखि नै यस क्षेत्रमा ८३ वटा मठ मन्दिर र विभिन्न ताल तलैया रहेपनि उचित संरक्षण एवं ठोस रुपमा काम हुन नसक्दा पछि परेकाले आगामी दिनमा मूल कार्यदिशा बनाएर अगाडिी वढ्नुपर्ने आवस्यकता त्रिपाठीले औल्याए ।

सोही अवसरमा अर्घौ ठुलाकोट कालभैरव धार्मीक क्षेत्र बिकास समितिका अध्यक्ष तिलकशाली अधिकारी र स्थानीय भीमनाथ कुइकेलले ठुलोकोटको धार्मीक महत्व र ऐतिहासिक विषय वस्तुकाबारे जानकारी गराएका थिए ।

यसैबिच ठूलाकोटको बृहत्तर विकासका लागि चैत ३० गते रामनहमीका दिन उक्त क्षेत्रमा दुर्गा पूजा सहित धार्मिक प्रवचन र गुरुयोजनबारे वृहत् रुपमा छलफल गरी बिकास समिति चयन गर्ने कार्यक्रम छ ।

त्यस्तै, सोही दिन पाँच जना गुरुहरुबाट वैदिक धर्मसम्वन्धी प्रवचन हुने बताइन्छ । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँबर, पोखरा महानगर प्रमुख मानबहादुर जिसी, जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षत्री अधिकारीलगायतको उपस्थिति रहने वडाध्यक्ष दियालीले जानकारी दिए ।

त्यस्तै, वेद अनुयायी प्रतिष्ठानका कृष्णकान्त, काशीनाथ न्यौपाने, डा.दिलबहादुर क्षत्री, बलभद्रनाथ योगी तथा गुरुदेव श्यामानन्दको विशेष प्रवचन रहेको बताइएको छ ।