फिफा विश्वकप छनोट दोस्रो चरणमा ३१ खेलाडी

नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ

जनसम्मत
श्रावण २८, २०७६, मंगलवार

पोखरा । आउँदो फिफा विश्वकपको दोस्रो चरणको छनोटमा रहेको नेपाली फुटबल टोलीका ३१ खेलाडी छनोटमा परेका छन् ।

प्रशिक्षक योहान कालिनले पहिलो चरणमा ३६ खेलाडी प्रशिक्षणमा बोलाएकोमा ५ खेलाडीलाई हटाएका छन् । जसमा कमल श्रेष्ठ, नितीन थापा, सेसेहाङ आमदाङगोइ, अमित तामाङ र मिक्चेन तामाङ छन् । कमल श्रेष्ठ बाहेक अरु चार खेलाडीलाई आसन्न दक्षिण एशियाली खेलकुद सागको तयारीमा रहेको यू–२३ टिममा राखिने भएको छ ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा अष्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपे रहेका छन् । दोस्रो चरणको छनोट खेल आगामी भदौ १९ गतेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेल कुवेतसँग खेल्नेछ । नेपालले भदौ १९ गते कुवेतसँग घरेलु मैदानमा खेल्ने तय भएको थियो । यद्यपी दशरथ रंगशालाको पुनःनिर्माण कार्य नसकिँदा कुवेतमा नै गएर खेल्ने पक्का भएको हो । नेपालले कुवेतसँग होम एण्ड अवे दुवै खेल कुवेतमा नै खेल्नेछ ।

नेपालले सेप्टेम्बर १० मा चाइनिज ताइपेई र अक्टोबर १५ मा जोर्डनसँग घरेलु मैदानमा खेल्ने तालिका थियो । तर, अब उक्त दुवै खेल नेपालले पहिले उसैको मैदानमा खेल्नेछ ।

चाइनिज ताइपेईसँग तय भएको सन् २०२० को मार्च २६ को अवे र जोर्डनसँग सन् २०२० को जुन ४ मा तय भएको अवे खेल नेपालमा हुनेछ । त्यसबाहेक नेपालले अष्ट्रेलियासँग अक्टोबर १० मा अवे खेल खेल्नेछ । यस्तै, नेपालले अष्ट्रेलियासँग २०२० को मार्च ३१ मा घरेलु मैदानमा खेल्नेछ ।

दोस्रो चरणको छनोटमा गोलरक्षक किरणकुमार लिम्बु, एलन न्यौपाने, विकेश कुथु र विशाल श्रेष्ठ छन् । डिफेन्डरमा विराज महर्जन, सरोज दाहाल, रन्जित धिमाल, सुमन अर्याल, अनन्त तामाङ, अजित भण्डारी, देवेन्द्र तामाङ, रवि सिलवाल, दिनेश राजवंशी, बिमल पाण्डे छन् ।

त्यस्तै, मिडफिल्डरमा सुनिल बल, रवि पासवान, सुजल श्रेष्ठ, विशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, तेज तामाङ, त्रिदेव गुरुङ, हेमन गुरुङ सुभाष गुरुङ छन् । त्यस्तै, स्ट्राइकरमा विमल घर्तीमगर, विमल राना, नवयुग श्रेष्ठ, अभिषेक रिजाल, अन्जन विष्ट र भरत खवास छन् ।