गोविन्द र सविना आइटीएफ वर्ष खेलाडी

जनसम्मत
श्रावण २८, २०७६, मंगलवार

पोखरा । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआइटीएफ)ले पुरुषमा एपीएफका गोविन्द खत्री र महिलामा गुल्मीकी सविना श्रेष्ठलाई आइटीएफ वर्ष खेलाडी–२०७५ को घोषणा गरेको छ ।

आइटीएफले उनीहरुलाई वर्ष खेलाडीको अवार्डबाट सम्मान समेत गरेको छ । गोविन्दले आठौं राष्ट्रिय खेलकुद तथा व्यवसायिक आइटीएफ राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेका थिए । सविनाले एसिया प्यासिफिक अन्तर्राष्ट्रिय आइटीएफ तेक्वान्दो तथा सिंगापुरमा भएको आमन्त्रित अन्तर्राष्ट्रिय तेक्वान्दोमा स्वर्ण जितेकी थिइन् ।

नेपाल आर्मीका उमेश राजथला उत्कृष्ट प्रशिक्षक बने । उनकै प्रशिक्षणमा आठौं राष्ट्रिय खेलकुदमा आर्मीले सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । विजय श्रेष्ठले ‘आउट स्टेन्डिङ’ अवार्ड हात पारे ।

महासंघका उपाध्यक्ष समेत रहेका विजयले आइटीएफ तेक्वान्दोको विकास र विस्तारमा उल्लेखनिय योगदान पु¥याएकाले सो अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष अञ्जन धमलाले बताए । यो विधा पहिलो पटक समावेश गरिएको हो । विजय प्रतियोगिता विभागका प्रमुख पनि हुन् ।
रोल्पा जिल्ला उत्कृष्ट संघ ठहरियो । वर्ष २०७५ मा उक्त जिल्लाले प्रदेशस्तरीय रेफ्री सेमिनार, प्रोफेसनल तेक्वान्दो प्रतियोगिता र प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरेको थियो । सो अवार्ड रोल्पा जिल्लाका अध्यक्ष विक्रम पाटामगरले ग्रहण गरे ।

पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय सांसद् श्यामकुमार श्रेष्ठ, नेपाल खेलकुद महासंघका सह–संयोजक शिव कोइराला (ज्वाला) लगायतले एक कार्यक्रमबीच नगदसहित पुरस्कृत गरे ।

महासंघको २२ औं वार्षिकोत्सवका अवसरमा उनीहरुलाई पुरस्कृत गरिएको हो । महासंघले आनो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउदै आइरहेको छ । त्यस अवसरमा महासंघले रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो ।

महासंघकै आयोजनामा तीनदिने ग्रेडिङ बुधबारदेखि सुरु भएको छ । ग्रेडिङमा ३ सय सहभागी छन् । उनीहरुलाई कोरियन ग्रान्डमास्टर जो चोल होले प्रशिक्षण दिइरहेका छन् भने उनलाई अन्जुनाथ श्रेष्ठ, प्रवीणकुमार कार्की, उमेश राजथला र अञ्जु रावलले सहयोग गरिरहेका छन् ।