पार्टीभित्र घात, अन्तरघात गर्नेहरुलाई कारवाही गर्ने सभापति देउवाको उद्घोष

पोखरामा नेकाँ जिल्ला कोषाध्यक्षहरुको तेस्रो राष्ट्रिय सम्मेलन

जनसम्मत
चैत्र २८, २०७५, बिहीवार

पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र घात अन्तरघात गर्नेहरुलाई कारवाही गरेर छाड्ने उद्घोष गरेका छन् ।

नेपाली काँग्रेस जिल्ला कोषध्यक्षहरुको पोखरामा शुरु तेस्रो राष्ट्रिय सम्मेलनलाई विहीवार सम्बोधन गर्दै देउवाले नेपाली काँग्रेलाई अव एक ढिक्का वनाउने प्रतिवद्धता व्यक्त गर्दै देउवाले भने, ‘वैशाखवाट नेपाली काँग्रेसले देशैभरी गाउँगाउँसम्म जागरण अभियानको कार्यक्रम संचालन गर्दैछ । पार्टीभित्र घात, अन्तरघात गर्नेलाई कारवाही गर्छु । चुनावमा उम्मेदवारलाई हराउन भूमिका खेल्नेलाई कारवाही गर्छु । अन्तरघातलाई मुक्त गरी पार्टीलार्ई बलियो बनाउने कुरामा अगाडि वढ्नेछु ।’

देउवाले नेकपाको केपी नेतृत्व सरकारले जनतामा समृद्धि नभई दैनिक जिविकोपार्जन गर्न नसक्ने अवस्थामा पु¥याएको आरोप लगाएका छन् । देउवाले आरोप लगाए, ‘सर्वसाधारण जनतामा कर थोपर्ने, महंगी वृद्धि, असुरक्षा, हत्या हिंसा वढेको छ । एक बर्षे कार्यकालमा केपी नेतृत्वको सरकारले राम्रा काम गर्दै गरेन । देशमा काण्डैकाण्ड मच्चायो । पछिल्लो समयमा सेनासमेत आफैले संचालन गर्ने भन्दै तानाशाह बन्न खोज्दै छन ।’

लोकतन्त्रको खिलापमा नेपाली काँग्रेसले कसैसँग सम्झौता नगर्ने देउवाले जिकिर गरे । उनले संविधान विपरित संवैधानिक आयोगहरुमा समेत सरकारी हस्तक्षेप बढेको देउवाले उल्लेख गरे ।

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेस भित्रको गुटउपगुट हटाएर पार्टीका नेता तथा कार्यकर्तालाई न्याय दिन जरुरी रहेको औंल्याए । उनले महामन्त्री शशांक कोइरालालाई पार्टी केन्द्रीय कार्यालयमा वसेर पार्र्टीभित्र न्याय दिलाइदिन आग्रह गरे ।

केपी नेतृत्वको सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएपनि एक वर्ष वितिसक्दा पनि कुनै त्यस्ता उल्लेखनीय कुनै काम नगरेको पौडेलले आरोेप लगाए । देशको बजेटसमेत आफ्ना कार्यकर्तामा नै वाँडेर सकेको आरोप उनको छ । समृद्धिको नाउँमा आम जनतालाई भ्रममा पारेको उनको आरोप थियो ।

त्यस्तैगरी, नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले दुई तिहाईको दुहाई दिने वामपन्थी सरकारसँग चनाखो रहन अपिल गरे ।
‘दुई तिहाईको सरकारले संविधान परिवर्तन गर्न पनि सक्छन् । त्यसप्रति नेपाली काँग्रेस चनाखो हुनु पर्छ,’ कोइरालालो भने, ‘आउँदो चार वर्षका काँग्रेसभित्रको गुट उपगुट हटाएर काँग्रेस एक ढिक्का भएर अगाडि वढ्नु पर्छ । कमजोर वनेको काँग्रेस अझ वढी कमजोर हुने काम गर्नु हुदैन । काँग्रेस कमजोर हुनु भनेको अरुवाट भन्दा पनि आफ्नै पार्टीवाट हो ।’

पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीका पूर्व सभापति कृष्णप्रसाद भट्टराईलाई सम्झिए । सिंहले भट्टराईले प्रत्येक जिल्लाका कार्यकर्ताहरुको हितलाई ध्यानमा राखेर काम गरेको स्मरण गरे । सिंहले पार्टी र भातृ संगठनहरुलाई चलायमान बनाउन नेतृत्वसमक्ष आग्रह गरे । विधानअनुसार पार्टी चल्नुपर्ने कुरामा जोड दिदैं सिंहले भातृ संगठनहरुको अधिवेशन समय सीमाभित्र सक्नुपर्नेमा जोड दिए ।

उक्तअवसरमा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु अर्जुनबहादुर जोशी, श्याम घिमिरे, सुरेन्द्र पाण्डे, बीरबहादुर बलायर, बहादुर लामा, कृष्णचन्द्र नेपाली, कास्की काँग्रेस नेता शुक्रराज शर्मा, कास्की सभापति कृष्ण केसीलगायत जिल्ला अध्यक्ष र पदाधिकारीलहरुले काँग्रेसभित्रको गुट–उपगुट र घात–अन्तरघातको अन्त्यको माग गरे । राष्ट्रिय सम्मेलनमा देशका ७६ जिल्लावाट कोषाध्यक्षको सहभागीता छ ।