नेपाल चलचित्र क्षेत्रकी बरिष्ठ अभिनेत्री सुभद्राको निधन

अधिकारीले वसन्ती, मुनामदन, बेहुली, भाउजू, माया पिरती, मसान चिनो, कन्यादान, भाउजु लगायतका धेरै चलचित्र तथा टेलिफिल्महरुमा अभिनय गरेका छन्

जनसम्मत
भाद्र १, २०७६, आइतबार

पोखरा । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७३ वर्षको उमेरमा निधन भएको छ ।

अधिकारीको शनिबार बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको हो । अधिकारीको शनिबार नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने भएको छ ।

६ वर्षको उमेरदेखि नै अभिनय थालेकी अधिकारीले पहिलो पटक नेवारी नाटक कचिमचा (काँचो माटो) बाट अभिनय गर्न सुरु गरेकी थिइन् । अधिकारीले करिब चार दशकदेखि कलाकारितामा सक्रिय थिइन् । अधिकारीको पहिलो फिल्म ‘मनको बाँध’ हो ।

अधिकारीले सयौंको संख्यामा चलचित्रमा अभिनय गरेकी छिन् । अधिकारीले वसन्ती, मुनामदन, बेहुली, भाउजू, माया पिरती, मसान चिनो, कन्यादान, भाउजु लगायतका धेरै चलचित्र तथा टेलिफिल्महरुमा अभिनय गरेका छन् । त्यसमध्ये चिनो, कन्यादान, भाउजुलगायतका स्व अधिकारी अभिनित चर्चित चलचित्रहरु हुन् ।

स्व. अधिकारी फिल्म क्षेत्रमा मात्र नभएर रंगमञ्च र गायन क्षेत्रमा पनि आवद्ध थिइन् । उनलाई २०६३ सालमा दीर्घ साधना सम्मानबाट पनि सम्मानित गरिएको थियो ।

अधिकारी केही समयदेखि निमोनियाबाट ग्रसित थिइन् । स्व. अधिकारकिा एक छोरा र एक छोरी छन्। उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।