पोखरामा चौथो भूपू सैनिक बास्केटबल प्रतियोगिता शुरु

जनसम्मत
चैत्र १५, २०७५, शुक्रबार

पोखरा, १५ चैत । चौथो गोर्खा भूतपूर्व सैनिक गोल्ड कप रनिङ शिल्ड बास्केटबल प्रतियोगिता पोखरामा शुक्रबारदेखि शुरु भएको छ ।

गण्डकी प्रदेश भूतपूर्व सेनिक खेलाडी संघ, पोखराको आयोजनामा शुरु भएको प्रतियोगिता २४ टिमको सहभागिता छ ।

पीपीओ पोखरा रामबजारका सीओ कर्णेल प्रतिक शर्माले प्रतियोगिताको उद्घाटन गरेका हुन् । कर्णेल शर्माले मुख्य रेफ्री विजय मल्ललाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै कर्णेल शर्माले गोर्खा सैनिकले भारतीय राष्ट्रिय सुरक्षामा ठूलो योगदान पु¥याएको चर्चा गरे । सेवा निवृत्तपछि पनि खेलकुदको माध्यमद्धारा भारतीय गोर्खा सैनिकहरुले शारिरीक तन्दुरुस्तीमा जोड दिएको बताए । खेलकुदले शरीर र टिम स्पिरिटलाई कायम राख्ने उनको भनाई थियो । कर्णेल शर्माले भारतीय गोर्खा सैनिकहरुको सांगठनिक गतिविधिलाई भारत सरकारले समेत सहयोग र समर्थन गर्ने बताए ।

गण्डकी प्रदेश भूतपूर्व सैनिक खेलाडी संघका अध्यक्ष क्या. प्रेमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संघका सल्लाहकार ले.धर्मबहादुर क्षत्रीले स्वागत र संचारकर्मी रोशनी गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको उद्घाटन खेलमा सेकेण्ड थर्ड गोर्खा राइफल्सले थर्ड फाइभ गोर्खा राइफल्समाथि ४२–३१ को जित निकाल्यो । चैतको २१ गतेसम्म प्रतियोगिता हुने संघका अध्यक्ष क्या. प्रेमप्रसाद गुरुङले जानकारी दिए ।