पोखरा रंगशालामा खानेपानी

पानी निर्मलीकरणको युरो गार्ड मेसिनका लागि गरिमा विकास बैंकले सहयोग गर्नेछ

नारायण शाही
भाद्र १, २०७६, आइतबार

पोखरा । पोखरा रंगशालामा विभिन्न प्रतियोगिताहरु हुँदा आयोजकको तर्फबाट खेलाडीहरुलाई खानेपानीको व्यवस्था हुँदैनथ्यो ।

सहभागी विद्यालय तथा संघसंस्थाहरु आफैले खानेपानीको व्यवस्था गर्नुपथ्र्यो । सहभागी संघसंस्थाहरुले पनि आफ्नो खेलाडीहरुको लागि खानेपानीको व्यवस्था नगर्दा खेलाडीहरु पानी पनि पिउन नपाई प्रतिस्पर्धाका लागि खेल भावना बोकेर मैदानमा उत्रन्थे ।

यसरी, मैदानमा उत्रदै गर्दा खेल्ने क्रमा खेलाडीहरु मैदानमै बेहोश भई ढलेका केही घटनाहरु छन् । खानेपानीकै अभावमा खेलाडीहरुले कुनै समस्या भोग्न नपरोस भन्ने उद्देश्यका साथ अहिले यतिखेर पोखरा रंगशालामा खानेपानीको पूर्वाधारको काम हुँदैछ । पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र भलिबल कोर्ट तथा कभर्ड हल नजिकै खानेपानीका ट्याङ्कीहरु जडान गरिएको हो ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङको पहलमा खानेपानीको पूर्वाधार बन्न लागेको हो । खानेपानी पूर्वाधार पूरा भएपछि खेलाडीहरुले राहत महसुश गर्ने राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य राजेशकुमार गुरुङले बताए । करिब १० लाखको लागतमा खानेपानीको योजना पूरा हुने गुरुङ बताए ।

‘खेलाडीहरुको हितलाई ध्यानमा राखी खानेपानीको व्यवस्था गर्न लागिएको हो,’ गुरुङले भने, ‘यो योजना पूरा भएपछि बास्केटबल, भलिबल, एथ्लेटिक्स, ब्याडमिन्टन र इन्डोर गेमका खेलाडी र अफिसियलहरुले शुद्ध पानी पिउन पाउनेछन् । बाहिर गएर उनीहरुलाई पैसा तिरेर पानी किन्न पर्दैन । सानै भएपनि खेलाडीहरुका लागि नभै नहुने यस्तो कुराहरुमा हाम्रो ध्यान गएको छ । ’

खानेपानीका लागि १५ सय लिटर पानी अट्ने ६ वटा ट्याङ््की जडान गरिएको छ । त्यसमध्ये ५ वटा ट्याङ््कीमा ७५ सय लिटर पानी जम्मा हुन्छ । बोरिङबाट पानीलाई ५ वटा ट्याङ्कीमा जोडिएको छ । एउटा ट्याङ्कीलाई शुद्धिकरणको प्रयोजनका लागि जडान गरिएको छ । पाँच वटासम्म पानीका धाराहरु बन्नेछन् ।

निर्मलीकरणका लागि युरो गार्ड यन्त्र समेत जडान गरिने गुरुङले बताए । गुरुङका अनुसार युरो गार्डको जडान गरिसकेपछि दैनिक २ हजार लिटर शुद्ध पानी जम्मा गर्न सकिनेछ । गर्मीको समयमा आइस राखेर समेत चिसो पानी पिउन सकिने प्रविधिसहितको खानेपानी योजना बनाएको गुरुङले उल्लेख गरे ।

खानेपानीका लागि समाजसेवी मेजर लक्ष्मीप्रसाद गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेजबहादुर गुरुङ, हङकङ निवासी हितमान गुरुङ, लेकसाइडस्थित डुङ्गा रेष्टटुरेन्टका प्रोपाइटर राजेश गुरुङ र कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङ र जनप्रतिनिधि तोरण बानियाको सहयोग रहेको छ ।

पानी निर्मलीकरणको युरो गार्ड मेसिनका लागि गरिमा विकास बैंकले सहयोग गर्ने गुरुङले जानकारी दिए । निर्र्मलीकरण यन्त्रका लागि करिब साँढे ४ लाखसम्म पर्ने गुरुङको भनाई छ । ‘बैंकले प्रस्तावपत्र मागेको छ । बैंकलाई छिट्टै आवश्यक कागजपत्र पेश गर्छौ, कागजपत्र पेश गर्नासाथ बैंकसँग सम्झौता हुन्छ । एक हप्ताभित्रै सबै खानेपानीको पूर्वाधार पूरा गर्छौ,’ गुरुङले बताए ।

१३ औं साग गेम र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पनि यस्ता न्यूनतम पूर्वाधारहरु बनाउनुपर्नेमा गुरुङ जोड दिन्छन् । नयाँ बहुउद्देश्यीय नयाँ कभर्ड हलमा समेत। यसको लगत्तै खानेपानीको पूर्वाधार बनाइने योजना रहेको गुरुङले बताए । गुरुङले भने, ‘नयाँ बहुउद्देश्यीय कभर्ड हलमा साँढे दश हजार लिटर बराबरको खानेपानीका ट्याङ््कीहरु जडान गरिन्छ ।’

गुरुङले पोखरा रंगशालास्थित बास्केटबलको संरचनालाई समेत व्यवस्थित बनाइने बताएका छन् । उनले बास्केटबल संघको कार्यलय लगायत खेलाडीका लागि चेञ्जिङ रुम र कोर्टको बाउन्डरीमा तारबार तथा कम्पाउण्ड बनाउने कुरामा संघसँग छलपल गरिरहेको बताए । उनले भने, ‘रंंगशालाको १ नं गेटबाट प्रवेश हुनासाथ सम्मुखमै रहेको बास्केटबल कोर्ट यस्तो बेवारिसे हालतमा हुनु हुँदैन ।’