एभीसी एसियन सेन्ट्रल जोन भलिबलमा नेपालले पहिलो खेल गुमायो

उद्घाटन खेलमा नेपाल किर्गिजस्तानसँग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो

जनसम्मत
भाद्र ३, २०७६, मंगलवार

पोखरा । एसियन सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा नेपालले पहिलो खेल गुमाएको छ ।

नेपाल पहिलो खेलमै किर्गिस्तानसँग पराजित बनेको हो । सोमबार भएको उद्घाटन खेलमा नेपाल किर्गिजस्तानसँग ३–० को सोझो सेटमा पराजित हुन पुग्यो ।

लगनखेलस्थित आर्मीको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालले किर्गिजस्तानलाई २३–२५, २२–२५ र २२–२५ को सोझो सेटमा हार्न पुग्यो । जितसँगै किर्गिस्तानले २ अंक जोडेको छ ।

उपाधिको बलियो दाबेदार किर्गिजस्तानले नेपालमाथि सुरुवातदेखि नै दबाब बनाएको थियो । नेपाली टिमले पहिलो सेटमा खासै राम्रो खेल्न सकेन । जसका कारण नेपालले पहिलो सेट २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा पनि नेपाल २२–२५ ले पराजित हुन पुग्यो ।

नेपालको खेल हेर्न पूरै कोर्ट भरिभराउ थियो । दोस्रो सेटमा पनि नेपालको स्पाइक र रिसिभ नचल्दा २२–२५ अंकमा किर्गिस्तानलाई नेपालले खेल सम्प्यो । पछिल्लो पटक किर्गिजस्तानविरुद्ध जित निकाल्न नसकेको नेपाल तेस्रो सेटमा भने पूरै दबाबमा खेलेको थियो । जसका कारण एक समय नेपाल १७–२२ ले पछि परेको थियो ।

त्यसपछि नेपालले दुई अंक जोड्दै खेललाई १९–२२ मा पु¥याएको थियो । तर अन्तिममा किर्गिजस्तानले २५–२२ ले तेस्रो सेत जित्न सफल भयो । यो जितसँगै किर्गिजस्तान एक खेल अगाडि नै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालको समूह ‘ए’ मा किर्गिस्तानसँगै माल्दिभ्स रहेको छ । बुधबार नेपालले अर्को खेल माल्दिभ्ससँग खेल्नेछ । मंगलबार किर्गिस्तानले माल्दिभ्ससँग खेल्नेछ ।

त्यस्तै, च्याम्पियनसीपको अर्को खेलमा तुर्किमिनिस्तानले जित हात पारेको छ । लगनखेलस्थित नेपाली सेनाको शारिरीक तथा खेलकुद केन्द्रको भलिबल कोर्टमा भएको खेलमा तुर्किमिनिस्तानले अफगानिस्तानलाई ३–१ को सेटमा पराजित गरेको हो । तुर्किमिनिस्तानले ३२–३०, १६–२५, २७–२५ र २६–२४ को सेटमा अफगानिस्तानमाथि जित निकालेको हो । जितसँगै तुर्र्किमिनिस्तानले २ अंक जोडेको छ ।

समूह ‘ए’मा रहेको तुर्किमिनिस्तानले अफगानिस्तानलाई पराजित गर्न निकै संघर्ष गर्नु प¥यो । तुर्किमिनिस्तानका लागि तीन सेटमा जित हात पर्दा प्रतियोगितामा शुखद् शुरुवात गर्न सफल भएको छ ।

अफगानिस्तानविरुद्ध तुर्किमिनिस्तानले पहिलो सेट ३२–३० ले जितेको थियो । त्यस्तै दोस्रो सेट तुर्किमिनिस्तानले निकै कमजोर अवस्थामा गुमाएको थियो । जसमा अफगानिस्तानले २५–१६ को स्कोरमा एक सेट हात पारेको थियो ।

तर, तुर्किमिनिस्तानले तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २७–२५ को स्कोरमा जित हात पा¥यो भने तुर्किमिनिस्तानका लागि निर्णायक बनेको चौथो सेटमा अफगानिस्तानले राम्रो खेलेपनि विपक्षीलाई रोक्न नसकेपछि २६–२४ को स्कोरमा सेट गुमाउन पुग्यो ।

समूह ‘बी’ मा तुर्किमिनिस्तानसहित अफगानिस्तान, उज्वेकिस्तान र बंगलादेश रहेको छ । मंगलबार समूह ‘बी’ मा रहेको अफगानिस्तान र बंगलादेश, तुर्किमिनिस्तान र उज्वेकिस्तानबीच खेल हुनेछ ।