लामा अमृत फाउन्डेसनद्वारा भलिवल

अन्नपूर्णको घान्द्रुकस्थित लामा अमृत फाउन्डेसनको आयोजनामा भदौको १७ गतेदेखि २१ गतेसम्म क्लवस्तरीय पुरुष, महिला, भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको हो

जनसम्मत
भाद्र ३, २०७६, मंगलवार

पोखरा । अन्नपूर्णको घान्द्रुकस्थित लामा अमृत फाउन्डेसनको आयोजनामा भदौको १७ गतेदेखि २१ गतेसम्म क्लवस्तरीय पुरुष, महिला, भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।

फाउन्डेसनको आयोजनामा पोखराको नदीपुरस्थित कर्पाकेली समाज घरमा प्रतियोगिता गर्न लागिएको सोमवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

प्रतियोगितामा प्रथम हुने पुरुष समूहले रु. ६० हजार, द्वितीयले रु.४० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, महिलातर्फको बिजेताले रु.२० हजार, उपबिजेताले रु.१४ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने फाउन्डेसनका संस्थापक अमृत गुरुङ लामाले जानकारी दिएका छन् ।

त्यस्तै पुरुष भेट्रान्सतर्फ प्रथमले रु.१५ हजार र द्वितीयले रु.१० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकको भनाई छ ।

कार्यक्रममा बोल्दै फाउन्डेसनका संस्थापक गुरुङले सामाजिक कार्य गर्ने उद्देश्यका साथ संस्था स्थापना गरिएको भन्दै यसपटक पनि ‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ नाराका साथ प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले फाउन्डेसनले खेलकुद एकेडेमी निर्माण गर्ने तथा विपद् उद्दार टोली गठन गर्ने लगायतका लक्ष्यहरु राखेको पनि जनाएका छन् । प्रतियोगिता सम्पन्न गर्न रु. ७ लाख ५० हजार खर्च लाग्ने अनुमान पनि आयोजकले गरेको छ ।

खेल संयोजक अनिल गुरुङले गण्डकी प्रदेशलाई खेलकुदको केन्द्र बनाउन प्रदेश सरकार लागि रहदाँ थप टेवा पुग्ने विश्वासका साथ फाउन्डेसनले पनि प्रतियोगिता आयोजना गरेको धारणा राखे । प्रतियोगितामा पुरुषतर्फ कुल १६ टिमले सहभागिता जनाउने बताइएको छ ।