आइसीसीको वरीयतामा नेपाल ११ औं स्थानमै यथावत

सोमबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ

जनसम्मत
भाद्र ३, २०७६, मंगलवार

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टीको वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आइसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहदै ११ औं स्थानमा रहेको छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै रहेको थियो ।

नयाँ वरियता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । नेपालले गत महिना मलेसियासँगको दुई खेलको टी–ट्वान्टी र सिंगापुरमा सम्पन्न आइसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन ।

एसोसियट राष्ट्र मध्यको टी–ट्वान्टी वरीयतामा भने नेपाल शीर्ष स्थानमा रहेको छ । नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् । नेपाल टेष्ट राष्ट्र बंगलादेशभन्दा १ रेटिङ अंकले पछि रहेको छ ।

टी–ट्वान्टी वरीयताको शीर्ष स्थानमा पाकिस्तान, दोस्रोमा इंग्ल्याण्ड र तेस्रोमा दक्षिण अफ्रीका रहेका छन् । यस्तै, चौंथो स्थानमा भारत र पाँचौ स्थानमा अष्ट्रेलिया रहेका छन् । आइसीसीले सार्वजनिक गरेको एकदिवसीय वरीयतामा पनि नेपाल १५ औं स्थानमा यथावत रहेको छ । नेपालले ८ खेलबाट १५२ रेटिङ अंक पाएको छ ।

एकदिवसीय वरीयतामा नेपाल भन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । एकदिवसीय वरीयताको शीर्ष स्थानमा इंग्ल्याण्ड, दोस्रोमा भारत, तेस्रोमा न्युजिल्याण्ड, चौंथोमा अष्ट्रेलिया र पाँचौ स्थानमा दक्षिण अफ्रिका रहेका छन् ।