किर्गिस्तान एभीसी सेन्ट्रल जोन भलिबलको च्याम्पियन (फोटो फिचरसहित)

उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै किर्गिस्तान च्याम्पियन बनेको हो

जनसम्मत
भाद्र ८, २०७६, आइतबार

पोखरा । किर्गिस्तान पाँचौं एभीसी सिनियर पुरुष सेन्ट्रल जोन भलिबल च्याम्पियन बनेको छ ।

लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई ३–० को सेटमा हराउँदै किर्गिस्तान च्याम्पियन बनेको हो । किर्गिस्तानले उज्वेकिस्तानलाई २६–२४,२७–२५ र २५–१९ले हराएको थियो ।

किर्गिस्तानले दोस्रो पटक यो उपाधि जितेको हो । यसअघि, तेस्रो संस्करणमा पनि किर्गिस्तानले उपाधि जितेको थियो । उज्वेकिस्तान भने हालसम्म पनि उपाधिविहिन छ । नेपालसहित दक्षिण एसियाका तीन टोली सहभागी भएपनि कुनै पनि दक्षिण एसियाली टोलीले पदक जित्न सकेको छैन ।

भदौको २ गते शुरु प्रतियोगितामा आयोजक नेपालसहित सात राष्ट्रको सहभागिता थियो । तुर्केमिनिस्तानले तेस्रो स्थान प्राप्त गरेको खेलमा माल्दिभ्स चौथो, नेपाल पाँचौं, अफगानिस्तान छैटौ र बंगलादेश पुछारमा छ । सेन्ट्रल जोनको छैटौं संस्करण अर्को वर्ष बंगलादेशमा हुने एभीसीको शुक्रबार काठमाडौंमा बसेको साधारणसभाले निर्णय गरेको छ ।

तस्वीर : दामोदर अर्याल