होराइजनलाई एन्फा स्याङ्जा लिग उपाधि

फाइनलमा स्मृति क्लबलाई ९–१ गोलको वर्षा गराउँदै होराइजनले लिग उपाधि जितेको

जनसम्मत
भाद्र १२, २०७६, बिहीवार

स्याङ्जा । स्याङ्जाको भुम्रेस्थित होराइजन क्लबले जिल्लाको क्लबस्तरीय लिग फुटबल उपाधि जितेको छ ।

फाइनलमा स्मृति क्लबलाई ९–१ गोलको वर्षा गराउँदै होराइजनले लिग उपाधि जितेको हो । उपाधिसँगै होराइजनले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता स्मृतिले १५ हजारमा चित्त बुझायो ।

एन्फा स्याङ्जाको आयोजनामा पुतलीबजार नगरपालिका–१३ स्थित मातृभूमी खेल मैदानमा भएको प्रतियोगिताको फाइनलमा होराइजनले स्मृतिमाथि पहिलो हाफमा ३ गोल र दोस्रो हाफमा ६ गोल वर्षा गरायो । खेलको पहिलो हाफमै पेनाल्टीमार्फत १ गोल गरेको स्मृतिले थप गोल गर्न सकेन ।

स्याङ्जा जिल्ला फुटवल संघ एन्फाको आयोजना र स्मृति क्लवको सहआयोजनामा झण्डै २ सातासम्म संचालित लिग प्रतियोगितामा जिल्लाका १३ क्लवले प्रतिस्पर्धा गरेको थियो । उपाधिसँगै होराइजनले अव प्रदेशस्तरीय लिग प्रतियोगितामा सहभागिता जनाउने अवसर पाएको छ ।