पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्रु र सर्वसाधारणमाथि ठगी

पोखरामा गुड्ने मिटर ट्याक्सीमा देखिएको समस्या तुरुन्त हल गर्न अर्थ तथा विसास समितिले निर्देशन समेत दिएको छ

जनसम्मत
भाद्र १९, २०७६, बिहीवार

पोखरा । पोखराका ट्याक्सीहरु मिटरमा चल्न नमान्दा यात्री र सर्वसाधारणहरु ठगीको मारमा परेका छन् ।

ट्याक्सी चालकहरुबाट मनपर्दि भाडा उठाउने गरेको स्वयं यात्री र सर्वसाधारणबाट गुनासाहरु आएका छन् । यात्री र सर्वसाधारणको गुनासो उठेपछि गण्डकी प्रदेशको संसदमै ट्याक्सीबाट यात्री र सर्वसाधारणहरु ठगिएको विषय उठेको छ । त्यतिमात्र होइन सरोकारवालाबीच पनि छलफलहरु चलाइएका छन् ।

पोखरामा गुड्ने मिटर ट्याक्सीमा देखिएको समस्या तुरुन्त हल गर्न अर्थ तथा विसास समितिले निर्देशन समेत दिएको छ ।  मिटर ट्याक्सीमा समस्या देखिएको भन्दै गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले भौतिक पूर्वाधार मन्त्रालयलाई तुरुन्त समस्या हल गर्न निर्देशन समेत दिएको हो ।

भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत सहित सरोकारवालाबीच प्रदेश सभा सचिवालयमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो । अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पोखरामा मिटरमा ट्याक्सी नचल्दा सर्वसाधरण ठगिएको गुनासो आएको र संसदमै कुरा उठेकोले आफूहरुले सरोकारवालाहरु बीच छलफल गरेको उल्लेख गरे । ट्याक्सी ब्यबसायीहरुले अहिलेकै अवस्थामा मिटरमा ट्याक्सी गुडाउन नसकिने बताएपछि भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले मिटरमा नगुड्ने ट्याक्सीलाई कारवाही गर्ने चेतावनी दिए ।

उनले विहीबार (आज) देखि मिटरमा नगुड्ने ट्याक्सी समात्न कास्की ट्राफिक प्रमुखलाई निर्देशन दिएका छन् । बस्नेतले ब्यबसायीहरुले अहिलेको भाडामा मिटरमा गुड्न नसक्ने बताएकोतर्फ भाडा समायोजन गर्नुपर्ने कुरा घुमाउरो तरिकाले स्वीकार गर्दै संसदमा यातायात विधेयक रहेको र वैज्ञानिक भाडा दर समायोजन गर्न एक समिति पनि निर्माण गरेको उल्लेख गरे । प्रदेशको कानून नबन्ने बेलासम्म संघीय कानून अनुसार नै भाडादरमा मिटरमा ट्याक्सी संचालन गर्न आग्रह गरे ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाश तिवारीले समय अनुसार नै भाडा समायोजन हुनुपर्नेमा जोड दिए । ‘मिटर लगाए चालक सकियो, नलगाए यात्रु सकियो’ भने जस्तो भएको छ,’ तिवारीको भनाई थियो । उनले २०६९ सालदेखि बैज्ञानिक भाडादर लागु नभएको बताए । अध्यक्ष तिवारीले ट्याक्सी चढेपछि शुरुमा एक लिटर पेट्रोलको मूल्य र पछि पल्स अनुसार १४ रुपैयाँको दरले भाडा भए मात्र ट्याक्सी मिटरमा गुडाउन सकिने बताए ।

यस्तै गण्डकी ट्याक्सी ब्यवासायी प्रालिका अर्जुन पौडेलले पोखराको सडकमा ट्याक्सी मिटरमा गुड्न नसक्नेमा जोड दिए । उनले भने, ‘पोखरामा दुईतर्फी यात्रु पाउनै मुस्किल छ, घाटा खाएर कसैले पनि सेवा दिन सक्दैन ।’

नेपाल यातायात ब्यावसायी राष्ट्रिय महासंघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष केदार पौडेलले बैज्ञानिक भाडादर कायम गरेर कार्यान्वयनमा जानुपर्ने बताए ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षत्री अधिकारीले आफ्नो भूमिका समन्वयको हो भन्दै पोखरामा मिटरमा ट्याक्सी गुड्नुपर्नेमा जोड दिए ।

अर्थ तथा विकास समितिका सदस्य एवं सांसदहरु इन्द्रलाल सापकोटा, हरिशरण आचार्य , जनकलाल श्रेष्ठ, सरिता गुरुङलगायतले आफूहरु ट्याक्सीमा चड्दा मिटरको कुरा गर्दा अपमानित हुनुपरेको गुनासो गरे ।

‘सांसदहरु नै मोलमोलाई गरेर ट्याक्सी चढ्नुपर्ने अबस्था छ, प्रदेश सरकारले कानून बनाएर ट्याक्सीको समस्या समाधान गर्नुपर्छ,’ उनीहरुको भनाई थियो ।

उपभोक्ता समिति कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने, ‘ट्याक्सी मिटरमा नचल्नु भनेको देशको कानुन मान्दिन भन्नुसरह हो, मिटरमै ट्याक्सी गुड्नुपर्छ । अन्यथा, यसको विकल्प छैन ।’

कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्की र ट्राफिक प्रमुख मुराहरि मिश्रले भने, ‘सरकारले बनाएको नियममा सवै चल्नुपर्छ, मिटरमा नगुड्ने ट्याक्सी कारवाहीमा पर्छ ।’