एसीसी यू–१९ क्रिकेटमा श्रीलंकासँग नेपालको हार

कोलम्बोमा भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको हो

जनसम्मत
भाद्र २१, २०७६, शनिबार

पोखरा । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

कोलम्बोमा शुक्रबार भएको पहिलो खेलमा नेपाल घरेलु टोली श्रीलंकासँग डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित भएको हो ।

आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा नेपालले दिएको १६० रनको सामान्य लक्ष्य श्रीलंकाले ३३ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।

खेलको ९ ओभर चल्दै गर्दा वर्षाको कारण खेल रोकिएपछि ४२ ओभरमा खेल झारिएको थियो । श्रीलंकाको जितमा कमिल मिश्राले ५५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, अहान विक्रमसिंगेले ३० तथा अभिस्का थारिन्दुले अविजित २५ रन बनाए ।

नेपालका राशिद खानले २ विकेट लिए । पवन सरार्फ, कमलसिंह ऐरी र सागर ढकालको नाममा समान १ विकेट रह्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ४२ ओभरमा ९ विकेट गुमाएर १५९ रन बनाएको थियो ।

नेपालको सम्मानजनक स्कोरमा रित गौतमले अर्धशतकीय इनिङ्स खेले । रितले नेपालका लागि ८६ बलमा सर्वाधिक ५४ रन बनाए । यस्तै, कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए । राशिद खानले १५ तथा हरिबहादुर चौहानले १२ रन जोडे ।

नेपाललाई सस्तैमा रोक्न श्रीलंकाका दिल्सान मधुशनका र नाभोद दिनुसरीले समान ३ विकेट लिए । जितसंगै समूह ‘बी’ को श्रीलंकाले २ अंक जोडेको छ ।

नेपालले हारबाट प्रतियोगिताको सुरुवात गर्दै अंकविहीन छ । अब नेपालले दोस्रो खेलमा आइतबार बंगलादेशसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा मंगलबार युएईसँग खेल्नेछ ।

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।