नेपालले सिंगापुरमा त्रिकोणीय अन्तराष्ट्रिय टी–२० सिरिज खेल्दै

नेपालले सिंगापुरमा असोजको १० र १४ गते नेपालले जिम्बावेसँग खेल्नेछ, असोजको ११ र १५ गते नेपालले आयोजक सिंगापुरसँग खेल्नेछ

जनसम्मत
भाद्र २३, २०७६, सोमबार

पोखरा । ओमान क्रिकेटको आयोजनामा अक्टोबर ५ (असोज १८) देखि हुने टी–२० अन्तराष्ट्रिय प्रतियोगिता अघि नेपाली राष्ट्रिय टिमले सिंगापुरमा हुने टी–२० सिरिज खेल्ने भएको ।

नेपालले असोज दोस्रो साता सिंगापुरमा हुने त्रिकोणीय अन्तराष्ट्रिय टी–२० खेल्ने नेपाली टिमका मिडिया म्यानेजर सुरज शाक्यले बताएका छन् ।
शाक्यका अनुसार सिरिजमा नेपाल, जिम्बावे र आयोजक सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सिंगापुरले टी–२० विश्वकप छनोटको तयारीका लागि आयोजना गर्न लागेको हो ।

नेपाल र जिम्बावे छनोटबाट बञ्चित भएपनि सिंगापुर भने विश्वकप छनोट खेल्दैछ । नेपाल सिंगापुरमा प्रतिस्पर्धा गरेपछि उतैबाट ओमान जानेछ ।

सिंगापुरमा असोजको १० र १४ गते नेपालले जिम्बावेसँग खेल्नेछ । असोजको ११ र १५ गते नेपालले आयोजक सिंगापुरसँग खेल्नेछ ।

ओमानमा हुने प्रतियोगितामा आयोजक ओमान, नेपाल, आयरल्यान्ड, हङकङ र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिता आइसिसी टी–२० विश्वकप छनोटको पूर्वसन्ध्यामा आयोजना गर्न लागिएको हो । विश्व छनोट प्रतियोगिता अक्टोबर ११ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

नेपाल भने गत महिना सिंगापुरमा भएको एसिया छनोटमै रोकिएको थियो। विश्व वरीयताको ११ औं स्थानमा रहेको नेपाललाई पछि पारेर सिंगापुरले एसियाबाट विश्व छनोटमा स्थान पक्का गरेको थियो ।

ओमानमा हुने प्रतियोगितामा असोजको १९ गते नेपालले हङकङसँग खेल्नेछ । असोजको २० गते नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ । असोजको २२ गते नेपालले आयरल्यान्डसँग खेल्नेछ । असोजको २३ गते नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्नेछ ।