सहारा एकेडेमीमा महिला ह्याण्डबल टोली

महिला राष्ट्रिय ह्याण्डबल टोलीले सहारा एकेडेमीका किशोर खेलाडीसँग मैत्रीपूर्ण फुटबल समेत खेले

जनसम्मत
असाेज ५, २०७६, आइतबार

पोखरा । मंसीरको १५ गते (डिसेम्बर १ तारिख) देखि नेपालमा हुने १३ औं दक्षिण एसियाली (साग) गेमका लागि बन्द प्रशिक्षणमा रहेका महिला ह्याण्डवल टोलीले पोखराको दोबिल्लास्थित सहारा एकेडेमीको भ्रमण गरेको छ ।

सहारा क्लब, पोखराद्वारा संचालित फुटबल एकेडेमीका किशोर खेलाडीहरुले राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा सहारा एकेडेमीका किशोर खेलाडी कमल सोमई मगरले ह्याण्डबल टोलीलाई खादा लगाएर स्वागत गरे ।

सो अवसरमा महिला राष्ट्रिय ह्याण्डबल टोलीले सहारा एकेडेमीका युवा खेलाडीसँग मैत्रीपूर्ण फुटबल समेत खेले । ह्याण्डबल टिमकी प्रशिक्षक विन्दा थापाले आफू कुनै दिन आएर सहाराका खेलाडीलाई ह्याण्डबल सिकाउने बताइन् ।

टोलीको एकेडमी भ्रमणमा प्रशिक्षकहरु भीमसेन शाक्य र कृष्ण शाक्य समेत सहभागी थिए । सहारा एकेडेमीमा हाल विभिन्न जिल्लाका २४ जना कठिन परिस्थितीका बालकहरु आश्रित रहेका छन ।