पोखरा जेसीजको ४५ औं वार्षिकोत्सव मनाइयो

जनसम्मत
चैत्र ३०, २०७५, शनिबार

पोखरा । पोखरा जेसीजले आफ्नो ४५ औं वार्षिकोत्सव मनाएको छ ।

नेपाल जेसीज क्षेत्र ‘ख’ निरुपित राष्ट्रिय उपाध्यक्ष गोकुल सापकोटाले शुभकामना व्यक्त गर्दै ४० वर्ष नकाटेका सक्षम युवाहरुको यस गौरवलायक संस्थालाई अग्रजहरुले देखाएको बाटोमा अघि बढाउन सुझाव दिए । उपाध्यक्ष सापकोटाले समाज परिवर्तनका लागि धेरै मान्छे नचाहिने र थोरै मान्छेले पनि समाज र राष्ट्रलाई परिवर्तन गर्न सक्छन् भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे ।

विशेष अतिथि पोखरा जेसीजका संस्थापक निर्देशक एवं पूर्व अध्यक्ष आनन्दराज मुल्मीले असल व्यक्ति बन्न सिकाउने जेसीजमा लागेपछि एउटा जिम्मेवार नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रलाई बिर्सन नहुने कुरा जोड दिए । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका मुल्मीले जेसीको मूलमन्त्र आत्मसाथ गर्दै अघि बढेका युवाहरु अहिले आफ्नो क्षेत्रमा स्थापित भएको पनि बताए ।

कार्यक्रममा संस्थापक निर्देशक कृष्णप्रसाद आचार्यले संस्था स्थापना गर्दाको अनुभव शेयर गर्नुका साथै संस्थाका हालका सदस्यहरु र संस्थाको प्रगति देखेर खुशी व्यक्त गरे । पोखरा जेसिजका अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा लेडी जेसीजका अध्यक्षसपना गिरी, लेखनाथ जेसीजका अध्यक्ष रोशन अधिकारी र आदर्श समाज सामाजिक संस्थाका अध्यक्ष भिमदेव शर्माले शुभकामना मन्तव्य राखे ।

उक्त कार्यक्रममा पोखरा जेसीजको बन्दै गरेको भवन निर्माणसम्बन्धी जानकारी किरण केसीले राखेका थिए । सोही अवसरमा नविन थापामगर, तिलकप्रसाद लामिछाने, पवित्रा अधिकारी (सर्जि), ध्रुव पोखरेल, बलराम कुंइकेलले आर्थिक सहयोग पनि गरे ।

उक्तकार्यक्रममा स्वागत मन्तव्य पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष मोहनप्रसाद अधिकारी, धन्यवाद ज्ञापन कार्यक्रम संयोजक सन्देश पराजुली र कार्यक्रम सञ्चालन महासचिव शक्ति वरुवालले गरेका थिए ।