टी–२० को वरीयतामा नेपाल ११ औं स्थानमा

आइसीसीले हालैमात्र अपडेट गरेको टी–२० को नयाँ वरीयतामा नेपाल यथावत रहँदै ११ औं स्थानमा कायम छ

जनसम्मत
असाेज ५, २०७६, आइतबार

पोखरा । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को टी–२० को वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

आइसीसीले हालैमात्र अपडेट गरेको टी–२० को नयाँ वरीयतामा नेपाल यथावत रहँदै ११ औं स्थानमा कायम छ । अघिल्लो महिना पनि नेपाल ११ औं स्थानमै थियो ।

नयाँ वरीयता अनुसार नेपालले १४ खेलबाट २०१ रेटिङ अंक पाएको छ । नेपालले दुई महिनाअघि मलेसियासँगको दुई खेलको टी–२० र सिंगापुरमा सम्पन्न आइसीसी टी–२० विश्वकप छनोट अन्तरगतको एसिया फाइनल खेलेपछि अन्य खेल खेलेको छैन । त्यसैले, नेपालको वरीयतामा घटबढ नभएको हो ।

एशोसियट राष्ट्रमध्येको टी–२० को वरीयतामा नेपाल शीर्ष स्थानमा रहेको हो । नेपालपछिको वरीयतामा स्कटल्याण्ड रहेको छ । यस्तै नेपाल भन्दा तल दुई टेष्ट राष्ट्र जिम्बावे र आयरल्याण्ड रहेका छन् ।

टी–२० वरीयताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इङ्ल्याण्ड यथावत स्थानमा छन् । एक स्थान सुधार गरेको भारत तेस्रो र अष्ट्रेलिया चौंथो स्थानमा उक्लिएका छन् । दक्षिण अफ्रिका पाँचौं स्थानमा झरेको छ । एकदिवसीय वरीयतामा नेपाल १६ औं स्थानमा कायम छ ।