एएफसी यू–१६ च्याम्पियनसीपमा नेपालको फराकिलो हार

नेपालले ताजिकिस्तानसँग ७–० गोलको फराकिलो अन्तरले लज्जाजनक हारलाई आत्मसाथ गरेको हो

जनसम्मत
असाेज ५, २०७६, आइतबार

पोखरा । जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसीप छनोटको तेस्रो खेलमा नेपालले फराकिलो गोल अन्तरले पराजित भएको छ ।

नेपाल ताजिकिस्तानसँग ७–० गोलको फराकिलो अन्तरले लज्जाजनक हारलाई आत्मसाथ गरेको हो ।

उक्त खेलमा ताजकिस्तानका लागि मोहमद भोरिस सैदअलिबले ह्याट्रिक पूरा गरेका थिए । ताजकिस्तानले पहिलो हाफमा ४ गोल र दोस्रो हाफमा ३ गोल गर्न सफल भयो । नेपाल विरुद्धको जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । अंकतालिकामा ३ खेल खेलेको ताजकिस्तानले शत प्रतिशत जित निकाल्दै अंकतालिकाको शीर्ष स्थान ओगटेको हो ।

ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । नेपाल तालिकाको चौथो स्थानमा छ । ३ खेलमा दुई खेलमा हार र १ खेलमा बराबरी गरेको नेपालको १ अंक मात्र छ । ताजकिस्तानसँगको पराजयसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना समेत सकिएको छ । यसअघि, पहिलो खेलमा नेपालले जोर्डनसँग ७–० ले हारेको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । औपचारिकताको लागि मात्रै नेपालले शुक्रबार श्रीलंकासँग खेल्नेछ ।

त्यस्तै, ३ खेल खेलेर २ जित र १ बराबरी गरेको जोर्डन तालिकाको दोस्रो स्थानमा छ । यस्तै, ४ खेल खेलेर १ जित, २ बराबरी र १ पराजय भोगेको कुवेत तालिकाको तेस्रो स्थानमा छ । जितबिहीन श्रीलंका तालिकाको पुछारमा छ । छनोट चरणको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेल भोली श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसीपको दोस्रो चरणमा स्थान बनाउनेछन् ।