राष्ट्रिय पुरुष भलिबलको उपाधि पुलिसलाई

विभागीय डर्बी फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि जितेको हो

जनसम्मत
असाेज ५, २०७६, आइतबार

पोखरा । प्रकाश दाहाल स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

विभागीय डर्बी फाइनलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै प्रहरीले उपाधि जितेको हो ।

चार दिन अगाडि हुने भनिएको फाइनल वर्षाका कारण स्तगित भएपछि शनिबारका लागि सारिएको थियो । आर्मीका मुख्य खेलाडी मानबहादुर श्रेष्ठ नभएको खेलमा आर्मी्विरुद्ध पुलिसले पहिलो सेट २५–२२ ले जित्यो । दोस्रो सेटमा पनि पुलिसले आर्मीमाथि पुनः २५–२२ ले आनो जित निकाल्यो ।

खेलमा खासै तालमेल मिलाउन नसकेको आर्मीविरुद्ध पुलिस तेस्रो सेटमा एक समय २०–१९ को अवस्थामा थियो । दर्शकले खचाखच भरिएको फाइनलमा पुलिसले लगातार तीन अंक बटुल्दै २२–२० को अवस्थामा पु¥यायो । तेस्रो सेटको अन्तिममा पुलिसले २५–२२ ले आर्मीलाई हराएर उपाधि जित्न सफल भयो ।

उपाधिसँगै पुलिसले ५ लाख र उपविजेता नेपाल आर्मीले ३ लाख सहित शिल्ड जितेको छ । यसअघि तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले तेस्रो स्थान हमेगटेको थियो । गण्डकी प्रदेशले १ लाख हात पारेको छ । त्यस्तै, विभागीय सशस्त्रको एपीएफले चौथो हुँदै ५० हजारमा चित्त बुझायो । प्रगतिशिल युवा नेपाल गोरखा–काठमाडौंले आयोजना गरेको प्रतियोगितामा ८ टोलीले प्रतिस्पर्धा गरेको थियो ।

आर्मीलाई फाइनलसम्म पु¥याउन उत्कृष्ट प्रर्दशन गरेका धनबहादुर भट्ट प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भए । धनबहादुरले अपाचे मोटरबाइक जिते । अन्य विधामा समेत नेपाल पुलिस क्लबका खेलाडीहरुले वर्चस्व कायम ग¥यो ।

पुलिसका कुलबहादुर थापा उत्कृष्ट स्पाइकर बने । पुलिसकै कप्तान ईम राना उत्कृष्ट सेटर घोषित भए । पुलिसका द्वारिका थापा उत्कृष्ट सर्भर बने, पुलिसकै भिम मगर उत्कृष्ट डिफेन्डर घोषित भए । पुलिसकै सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने । गण्डकी प्रदेशका याम क्षेत्री उत्कृष्ट ब्लकर बने । उनीहरुले समान १० हजार नगद पुरस्कार प्राप्त गरे ।

आयोजक प्रगतिशील युवा नेपाल गोरखा–काठमाडौंले दोस्रो संस्करणको प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गर्ने जनाएको छ । संस्करणदेखि विजेताका लागि ७ लाख पुरस्कारको घोषणा गरेको छ ।

कार्यक्रममा नेपाली राष्ट्रिय भलिबल तथा पुलिसका कप्तान ईम रानालाई भलिबलमा योगदान पु¥याएको भन्दै आयोजकका तर्फबाट सम्मान समेत गरिएको थियो ।