आइटीएफ जी–४ टेनिसमा कमल थापालाई दोहोरो उपाधि

थापाले ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारमाथि ६–४ र ६–२ को सोझो सेटमा जित निकाल्दै उपाधि जिते, त्यसैगरी थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो

रासस
असाेज ९, २०७६, बिहीवार

काठमाण्डौं । नेपालका भेट्रान राष्ट्रिय टेनिस खेलाडी कमल थापाले ‘एनआइसी एसिया बैंक नेपाल आइटीएफ विश्व वरीयता सिनियर्स ग्रेड–४’ टेनिस च्याम्पियनसीपमा दोहोरो उपाधि जितेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले पोखरा रंगशालाको टेनिस कोर्टमा बुधबार भएको ५५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धामा भारतका सञ्जय कुमारमाथि ६–४ र ६–२ को सोझो सेटमा जित निकाल्दै उपाधि जितेका हुन् ।

त्यसैगरी थापाको जोडीले ५५ वर्षमाथिकै उमेर समूहको युगलतर्फको समेत उपाधि जितेको छ । थापा र छाम्बा ढुण्डुपको जोडीले राजेन्द्रसिंह भण्डारी र करिमुल्लाह मुस्लिमको जोडीलाई ११–९ को सेटमा पराजित गरी उपाधि जितेको हो ।

च्याम्पियनसीपको ३५ वर्षमाथिको उमेर समूहको उपाधि धरमबहादुर लामिछाने र विमलकुमार गुरुङको जोडीले गोपी भट्टराई र शरन गुरुङको जोडीमाथि ६–४, ५–७ र १०–६ को सुपर टाइमा जित निकाल्दै उपाधि जितेका छन् । ३५ वर्ष माथिको उमेर समूहको उपाधि भने विकास गुरुङ तथा ४५ वर्षमाथिको उमेर समूहमा विमलकुमार गुरुङले उपाधि जितेका छन् ।

च्याम्पियनसीपमा ३५ वर्षमाथिको उमेर समूहमा १० जना, ४५ वर्षमाथिको उमेर समूहमा २२ जना तथा ५५ वर्ष माथिकोे प्रतिस्पर्धामा २० जनाले वरीयता प्राप्त गर्ने अंकको लागि प्रतिस्पर्धा गरेको प्रतियोगिताका संयोजक प्रिति बरालले जानकारी दिइन् । एनआइसी एसिया बैंकका गण्डकी प्रदेश प्रमुख दीपेन्द्र शर्मा, नेपाल टेनिस संघका पूर्व अध्यक्ष मनोज राणालगायतले विजेता खेलाडीलाई ट्रफी पुरस्कार वितरण गरे ।