भारतलाई स्ट्यान्डिङ क्रिकेटको उपाधि

फाइनल खेलमा २८ रनले पराजित गर्दै घरेलु टोली नेपाललाई भारतले ३ वटै खेलको शृंखलामा ३–० ले क्लीन स्वीप गरेको हो

जनसम्मत
असाेज ९, २०७६, बिहीवार

पोखरा । अपाङ्गता भएकाहरुको स्ट्यान्डिङ क्रिकेट शृंखलाको उपाधि भारतले जितेको छ ।

फाइनल खेलमा घरेलु टोली नेपाललाई २८ रनले पराजित गर्दै भारतले ३ वटै खेलको शृंखलामा ३–० ले क्लीन स्वीप गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । भारतका इमरान मल्लिकले ५२ रनको अर्धशतकीय पारी खेले । नेपालका तबरेज अन्सारीले ३ विकेट हात पारे । पहिलो खेलमा भारतले ६१ रन र दोस्रो खेलमा ६ विकेटको जित निकालेको थियो ।

भारतले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपालले निधारित ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो । नेपालका छवि धोबीले ४१ तथा तबरेज अन्सारीले १६ रन बनाए ।

प्रतियोगितामा भारतका इमरान मल्लिक ‘म्यान अफ दी सिरिज’ र ‘म्यान अफ दी’ दुवै घोषित भए । यस्तै, भारतीय कप्तान यादयुन्द्रसिंह खेरा ‘बेस्ट ब्याट्सम्यान’ बने । नेपालका तबरेज अन्सारी ‘बेस्ट बलर’ बने । भारतका तबरेज ‘बेस्ट विकेटकिपर’ बने । नेपालका मनोज थापा ‘बेस्ट फिल्डर’ घोषित भए ।

नेपाल ह्विलचेयर क्रिकेट संघका अध्यक्ष छुल्टिम शेर्पा, सुशील कोइराला फाउन्डेसनका सदस्य–सचिव अतुल कोइरालालगायतले विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार प्रदान गरे ।