साफ यू–१८, नेपाली टोलीका प्रशिक्षक श्रेष्ठले दिए राजीनामा

नेपालमै भएको साफ यू–१८ को पहिलो चरणबाटै साविक बिजेता घरेलु नेपाली पहिलो चरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले राजीनामा बुझाएका हुन्

जनसम्मत
असाेज ९, २०७६, बिहीवार

पोखरा । साफ यू–१८ च्याम्पियनसिपमा खराब नतिजापछि प्रशिक्षक चेतनारायण श्रेष्ठले राजीनामा दिएका छन् ।

नेपालमै भएको साफ यू–१८ को पहिलो चरणबाटै साविक बिजेता घरेलु नेपाली पहिलो चरणबाटै बाहिरिएपछि प्रशिक्षक श्रेष्ठले राजीनामा बुझाएका हुन् । प्रशिक्षक श्रेष्ठले हारको जिम्मेवारी लिँदै राजीनामा दिएको अखिल नेपाल फुटबल संघले जनाएको छ ।

अघिल्ला २ संस्करणको च्याम्पियन नेपाल जारी साफ यू–१८ च्याम्पियनसीपको समूह चरणबाटै बाहिरिएको थियो । श्रेष्ठ यसअघि जेठ २८ गते यू–१८ टिमको प्रशिक्षकमा नियुक्त भएका थिए । एन्फाले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिँदा सहायक प्रशिक्षकमा सनोज श्रेष्ठ र गोलकीपर प्रशिक्षकमा चनुराम चौधरी नियुक्त भएका थिए ।

सोमबार हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको समूह ‘ए’ को खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरी खेलेसँगै नेपाल समूह चरणबाटै बाहिरिएको थियो । नेपाल आइतबार भएको आफ्नो दोस्रो खेलमा भुटानसँग ३–० ले पराजित भएको थियो ।

त्यसअघि नेपाल र माल्दिभ्सले १–१ गोलको बराबरी खेलेका थिए । सन् २०१६ र २०१८ को विजेता नेपाल समूह चरणबाटै बाहिरिने क्रममा जितबिहीन समेत बन्यो । समूहबाट भुटान ४ अंक जोडेर समूह विजेता र माल्दिभ्स २ अंक जोडेर उपविजेताको रुपमा अन्तिम चारमा पुग्दा नेपालले १ अंक मात्र जोड्दै पहिलो चरणबाटै बाहिरियो ।