चाडपर्वमा हुने कालोबजारी हटाउन प्रदेश सरकारसमक्ष नारी जागरण अभियानको ध्यानाकर्षण

चाडको मौका छोपी कृत्तिम अभाव, कालोबजारी, मूल्यवृद्धि, कम गुणस्तरका वस्तुको व्यापार, खाद्यान्नमा मिसावट जस्ता विकृति हुने गरेका पनि ध्यानाकर्षण पत्रमा जनाइएको छ

जनसम्मत
असाेज १०, २०७६, शुक्रबार

पोखरा । नारी जागरण अभियान पोखरा, कास्कीले चाडपर्वको मौका छोपेर मुल्य बृद्धि गर्ने तथा कालोबजारी गरिएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षणपत्रमा दशैं नेपालीको महान् चाड रहेको, देवी दुर्गाले महाकालीको रुप धारण गरी महिषासुर राक्षसको बध गरेको साथै श्रीरामले रावणमाथि विजय प्राप्त गरेको दिनका रुपमा दशैं मनाउन सुरुवात भएको, असत्यमाथि सत्यको जितको प्रतीकका रुपमा लिइने गरेको उल्लेख छ ।

दसैंमा धेरैथरि उपभोग्य वस्तुको किनमेल गरिन्छ । यस चाडको मौका छोपी कृत्तिम अभाव, कालोबजारी, मूल्यवृद्धि, कम गुणस्तरका वस्तुको व्यापार, खाद्यान्नमा मिसावट जस्ता विकृति हुने गरेका पनि ध्यानाकर्षण पत्रमा जनाइएको छ ।

खुलारुपमा बेच्न राखिएका अवस्थकर मासु, मिठाइ, फलफूल तथा अन्य खाद्यवस्तुका कारण मानव स्वास्थमा प्रत्यक्ष असर पर्न सक्छ ।
मदिराजन्य पदार्थको खुला बिक्री र जथाभावी प्रयोगका कारण झैझगडाका घटना पनि हुन सक्छन् । पर्वको मौका छोपी चोरी डकैतीका घटना पनि कतै कतै हुने गरेका थिए ।

चाडपर्वको समयमा सडकमा अत्यधिक चाप, सवारी साधनको तीव्र गति तथा क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना हुने भय पनि हुन्छ ।

दसैंका धार्मिक, सामाजिक पक्षको जगेर्ना गर्दै सडक दुर्घटना, चोरी डकैती, भैझगडा, कालोबजारी लगायतका विकृति हटाउनु आवश्यक रहेको भन्दै गण्डकी प्रदेश सरकारसमक्ष नारी जागरण अभियान पोखरा ध्यानाकर्षणसहितको हार्दिक अनुरोध गरिएको केन्द्रले जनाएको छ ।