प्यानलसहित चतुरबहादुर चन्द क्यानको अध्यक्षमा विजयी

चन्द ४४ मतका साथ अध्यक्ष पदमा निवार्चित भएका हुन्, प्रतिद्वन्दी विनयराज पाण्डेले १५ भोट प्राप्त गरे

जनसम्मत
असाेज ११, २०७६, शनिबार

पोखरा । नेपाल क्रिकेट संघ क्यानको अध्यक्षमा चतुरबहादुर चन्द प्यानलसहित विजयी बनेका छन् ।

 चन्द ४४ मतका साथ अध्यक्ष पदमा निवार्चित भएका हुन् । प्रतिद्वन्दी विनयराज पाण्डेले १५ भोट प्राप्त गरे । चार दशकदेखि नेपाली क्रिकेटसँग जोडिएका पाण्डेलाई पराजित गर्दै चन्दले क्यानको नेतृत्व लिन सफल बने ।

चन्द प्यानलबाटै उपाध्यक्षमा राजुबाबु श्रेष्ठ ४४ मत, महासचिवमा अशोकनाथ प्याकुरेल ४३ मत र कोषाध्यक्षमा रोशनकुमार सिंह ४५ मतसहित विजयी बने ।

त्यस्तै, प्रादेशिक सदस्यहरुमा प्रदेश १ बाट कैलाश विष्ट, प्रदेश २ बाट दाउद अन्सारी, प्रदेश ३ बाट अमितवीर पाण्डे, प्रदेश ४ बाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्तबिक्रम मल्ल, प्रदेश ६ बाट पदमबहादुर खड्का र प्रदेश ७ बाट बिक्रम बिष्ट निर्वाचित भए ।

त्यसैगरी, खुला सदस्यहरुमा दुर्गाराज पाठक, वीरेन्द्रबहादुर चन्द, माधवकुमार कर्माचार्य, सञ्जयराज सिंह र करन मल्होत्रा क्षत्री विजयी बनेका छन् । खुल्ला सदस्यका लागि ११ जनाको उमेद्वारी परेको थियो ।