भारतलाई साफ यू–१८ च्याम्पियनसीप फुटबल उपाधि

बंगलादेशमाथि २–१ को जित निकाल्दै भारतले उपाधि जितेको हो

जनसम्मत
असाेज १२, २०७६, आइतबार

पोखरा । भारतले तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनशिपको उपाधि जितेको छ ।

राजधानीको हलचोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा आइतबार भएको खेलमा बंगलादेशमाथि २–१ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमा नै भारतले अग्रता लिएको थियो । भारतका विक्रम प्रतापले पहिलो गोल गर्दै भारतलाई अग्रता दिलाए । भारतको त्यस अग्रतालाई ४० औँ मिनेटमा बंगलादेशका यसिनले गोल गर्दै बराबरी गरे । पहिलो हाफमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दा इञ्जुरी समयमा भारतका रविबहादुर रानाले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।

तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियनसिप फुटबलमा भारतका मितेइ निन्थोइङबा सर्वोकृष्ट खेलाडी घोषित भए । मिडफिल्डर निन्थोइङबाले भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेलेका थिए । मितेइ लिन्थाइङ्वा प्रेरित प्रदर्शनमा बंगलादेशलाई हराउँदै आइतबार भारतले साफ यू–१८ को उपाधि जितेको थियो । बंगलादेशका फरवार्ड फोयसल अहमेद फाहिम सर्वाधिक गोलकर्ता बने । नेपालका बृजेशलाल चौधरी उत्कृष्ठ स्ट्राइकर बने ।

फाइनलमा कार्डको वर्षा

तनावपूर्ण बनेको फाइनल खेलमा रेड कार्डको वर्षा भयो । बंगलादेशका २ र भारतका १ खेलाडीले रेड कार्ड खादैं मैदानबाट बाहिरिनु प¥यो ।

उपाधिका लागि खेलेका दुवै तर्फका खेलाडीहरु आक्रामक बन्दा फाइनल खेल तनावग्रस्त बनेको थियो । जसका कारण रेफ्रीले ३ वटा रातो कार्ड सहित ५ वटा पहेँलो कार्ड देखाउनु परेको थियो ।

बंगलादेशका खेलाडीले २ रातो कार्ड र ४ पहेँलो कार्ड पाए । भारतका १ खेलाडीले १ रातो र १ पहेँलो कार्ड पाएका थिए । खेलको तेस्रो मिनेटमै भारतका विक्रमले पहेँलो कार्ड पाए । १८ मिनेटमा बंगलादेशका काजी र २० मिनेटमा फहिमले पहेँलो कार्ड पाएको थियो ।

२३ मिनेटमा भारतका गुरकिरात र बंगलादेशका फहिमले रातो कार्ड पाउँदा दुवै टिम १०–१० खेलाडीमा सीमित बन्न पुग्यो । ३१ मिनेटमा बंगलादेशका तनवीरले अर्को पहेँलो कार्ड पाए ।

४० मिनेटमा बंगलादेशका यासिनले बराबरी गोल फर्काएपछि रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । जसका कारण बंगलादेश ९ खेलाडीमा सीमित बन्यो । बंगलादेशका खेलाडीले पहेँलो कार्ड पाउने क्रम जारी नै रह्यो । खेलको ६९ मिनेटमा बंगलादेशका सडेकुजानमले पहेँलो कार्ड पाए ।

माल्दिभ्स तेस्रो

जारी तेस्रो संस्करणको साफ यू–१८ फुटबल च्याम्पियिनसीपमा माल्दिभ्स तेस्रो बनेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार नै तेस्रो स्थानको लागि भएको खेलमा भुटानलाई १–० ले हराउँदै माल्दिभ्स च्याम्पियनसिपमा तेस्रो बनेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

तर, दोस्रो हाफमा भुटानविरुद्ध माल्दिभ्सले निर्णायक एक गोल गर्दै तेस्रो बन्न सफल भयो । माल्दिभ्सका लागि इब्राहिम इमरानले भुटानको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै गोल गरे । भुटान खेलमा फर्कने प्रयास गरेपनि गोल भने गर्न सकेन । यस प्रतियोगितामा नेपाल समूह चरणबाट नै बाहिरिएको थियो ।