नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो, चिनियाँ राष्ट्रपतिका साथ विदेशमन्त्री वाङ यीलगायत उच्च अधिकारी भ्रमणदलमा सहभागी छन्

नारायण शाही
असाेज २६, २०७६, आइतबार

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको राजकीय भ्रमण गरेका छन् ।

नेपालको राजकीय भ्रमणका लागि राष्ट्रपति सी चिनफिङ सोमबार विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका हुन् ।

नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिकतापूर्वक स्वागत अभिवादन गरे ।

त्यसअघि, राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् ।

विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्रीद्वयसहित मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अंगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा यहाँस्थित चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।

विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विशेषगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिांरिएको छ ।

विमानस्थल प्रवेशको स्वागतद्वारदेखि नै राष्ट्रपतिलाई विभिन्न परम्परागत नेपाली बाजागाजासहित स्वागत गरिएको थियो ।

चिनियाँ विशिष्ट पाहुनाको आवागमनका सडकमा ठाउँठाउँमा ‘सर्वोच्च शिखर सगरमाथाजस्तै उँचो नेपाल चीन मैत्री’, ‘नेपाल–चीन मित्रता विशाल, गहन र अटल’, ‘बुद्ध र सगरमाथाको देशमा हार्दिक स्वागत छ’ लेखिएका ब्यानर र स्वागतद्वार बनाइएका छन् ।

विमानस्थलबाट बाहिरिने द्वार, तीनकुने चोक, माइतीघर मण्डल, त्रिपुरेश्वर, कालीमाटी चोक ताहाचललगायतका स्थानहरुलाई चिटिक्क सिंगारिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सप्तरंगी इन्द्रेणीको अनुभव हुने गरी पानीको फोहरा निर्माण गरिएको छ भने ढकमक्क फुलेका फूलहरुले विमानस्थल र सवारी मार्गको शोभा नै बढाएको छ ।

राष्ट्रपति सीलाई विमानस्थलबाट उनलाई आतिथ्यता एवं आवासको व्यवस्था गरिएको स्थलसम्मका सवारीमार्गका दायाँबायाँ नेपाल सरकारका कर्मचारी, विभिन्न शैक्षिक प्रतिष्ठानका विद्यार्थीसहित विशाल जनसमुदायले नेपाल र चीनका झण्डा फहराउँदै स्वागत गरेका थिए ।

तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।

राजकीय भ्रमणमा चिनियाँ राष्ट्रपति सी चिनफिनसँगै चीनबाट विदेशमन्त्री वाङ यी, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं राष्ट्रपति सीका निकट सहयोगी नेता दिङ सुइसियाङ, चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्युरो सदस्य एवं पार्टीको विदेश मामिला आयोगका डाइरेक्टर, पूर्वविदेशमन्त्री याङ जेइची, चिनियाँ कम्युनिष्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र हेर्ने सचिव यु यिङ जी, चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका मिनिस्टर इन्चार्ज हे लिफेङलगायत रहेका छन् ।

राष्ट्रपति सीको यो भ्रमणलाई नेपाल–चीनबीचको सामाजिक, सांस्कृतिक र आर्थिक सम्बन्ध अभिवृद्धिमा दूरगामी प्रभाव पार्ने विश्वास गरिएको छ ।