गण्डकी प्रदेश प्रमुखसमक्ष महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस

जनसम्मत
चैत्र ३०, २०७५, शनिबार

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरसमक्ष गण्डकी प्रदेशको महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

प्रदेश प्रमुखको निवास सिमलचौरमा शुक्रबार आयोजित एक समारोहबीच नायव महालेखा परीक्षक पदमराज पौडेलले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख कँुवरसमक्ष पेस गरेका हुन् ।

प्रदेश सरकार स्थापना भएपछि प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निकासा भएको रकमको से्रस्ताको लेखापरीक्षण गरि पहिलो पटक प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरिएको हो ।

नायव महालेखा परीक्षक पौडेलले प्रदेश प्रमुख कुँवरलाई प्रतिवेदनमा समावेश भएको विवरणको संक्षिप्त जानकारी पढेर सुनाएका थिए ।

प्रदेश प्रमुख कुँवरले प्रतिवेदन सुनेपछि गण्डकी प्रदेशभित्र कानुनबमोजिम राख्नुपर्ने स्रेस्ताहरु र कानुन बमोजिम गर्नुपर्ने काम कर्तव्य सन्तोषजनक रुपमा गरिरहेका छौं भन्ने नलागेको बताए । ‘कानूनले डिउटी तोकेपछि त्यसको अक्षरस पालना हुनुपर्छ भन्ने मेरो मात्र हैन सबैको धारणा हो । त्यसरी नै देश र राज्य व्यवस्था अगाडी बढिरहेको हुन्छ,’ उनले भने, ‘कानुनको कार्यान्वयनमा र कानुनको पालनामा उदासिन भइयो भने देशको समृद्धि र समुन्नती धेरै पछाडी पर्छ भन्ने कुराको निम्ति हामीलाई कुनै किसिमको प्रमाणको जरुरी छैन ।’

आरम्भमै भएकाले कुनै प्राविधिक कारणले दुरुस्त नराखेका कारण महालेखा परीक्षकका कार्यालयले जेजस्ता कमिकमजोरी औंल्याइएको छ त्यसलाई संवैधानिक र कानुनी दायित्व पूरा गरेको मान्नुपर्ने प्रदेश प्रमुखको भनाई थियो । प्रदेश प्रमुख कुँवरले आगमी दिनमा प्रदेशका अख्तियारप्राप्त अधिकारीले कानुन बमोजिम काम गर्ने प्रतिबद्धता गर्नु आजको आवश्यक रहेको औंल्याए ।

नेपालको संविधान धारा २९४ को उपधारा ३ मा संवैधानिक निकायले प्रत्येक प्रदेशको काम कारबाहीको सम्बन्धमा अगलअगल प्रतिवेदन तयार गरी प्रदेश प्रमुखसमक्ष पेश गर्ने प्रावधान रहेको छ ।

सोही प्रावधान बमोजिम महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७४÷०७५ मा गण्डकी प्रदेशभित्र रहेका सरकारी कार्यालयमा गरिएको महालेखा परीक्षणको ब्यहोरा समेटिएको प्रतिवेदन नायव महालेखा परीक्षक पदमराज पौडेलले पेस गरेका हुन् ।
प्रतिवेदन कार्यान्वयनका लागि प्रदेश प्रमुखबाट प्रदेशका मुख्यमन्त्री मार्फत प्रदेश संसदनमा पेस गर्ने प्रावधान रहेको छ ।

प्रतिवेदन पेस गर्न काठमाडौंबाट नायव महालेखा परिक्षक पौडलेसहित निर्देशक अनन्त तिवारी र लेखापरीक्षण अधिकारी कृष्णप्रसाद दहालसहितको टोली पोखरा आएको थियो ।