म्याराथनमा केन्याली धावक इलियट किप्चोगेको नयाँ रेकर्ड

किप्चोगेले ४२.२ किलोमिटरको दूरी १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन्

जनसम्मत
असाेज २७, २०७६, सोमबार

पोखरा । केन्याली धावक इलियट किप्चोगे २ घन्टाभन्दा कम समयमा म्याराथान पूरा गर्ने खेलाडीका रुपमा नयाँ रेकर्ड राखेका छन् ।

दुई घण्टा भन्दा कम समयमा म्याराथन पूरा गर्ने खेलाडीका रुपमा किप्चोगे पहिलो खेलाडी बनेका छन् । ३४ वर्षीय केन्याली धावक किप्चोगेले ४२.२ किलोमिटरको दूरी १ घन्टा ५९ मिनेट ४० सेकेन्डमा पूरा गरेका हुन् । उनले शनिबार अस्ट्रियाको भियनामा भएको म्याराथनमा २ घन्टा भन्दा कम समयमा म्याराथन पूरा गरेका हुन् ।

उनको यो समयलाई आधिकारीक रेकर्डको रुपमा भने मानिने छैन । किनभने यस म्याराथन खुला प्रतिस्पर्धा थिएन । उनले दौडका लागि आफ्नो पछाडि साथीको समूह राखेका थिए । २ घन्टा भन्दा कम समयमा म्याराथन पूरा गरेपछि उनले केही कुरा पनि सीमित नहुने बताएका छन् ।

उनले आफूले २ घन्टा भन्दा कम समयमा म्याराथन पूरा गरेको र अन्यले पनि अब पूरा गर्ने बताएका छन् । कम समयमा म्याराथन पूरा गर्ने रेकर्ड पनि किप्चोगे कै नाममा छ । उनले सन् २०१८ मा जर्मनीमा भएको म्याराथनमा २ घन्टा १ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका थिए । २०१६ को रियो ओलम्पिक म्याराथनका च्याम्पियनसमेत रहेका उनले चार पटक लन्डन म्याराथनको उपाधि जितिसकेका छन् ।