महिला टी–२० वरीयतामा नेपालको एक स्थान सुधार

नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ

जनसम्मत
असाेज २७, २०७६, सोमबार

पोखरा । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को महिला टी–२० क्रिकेटको वरीयतामा नेपाली महिला क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ ।

आइसीसीले गत सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले एक स्थान सुधार गर्न सफल भएको हो । नयाँ वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १४ औँ स्थानमा उक्लिएको छ । अघिल्लो महिनाको वरीयतामा नेपाल १५ औँ स्थानमा थियो । नेपालले १७ खेलबाट १२८ रेटिङ अंक पाएको छ ।

वरीयताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । त्यस्तै, दोस्रोमा इङ्ल्यान्ड र तेस्रोमा न्युजिल्यान्ड छन् । टि–२० महिला खेलाडीको वरीयतामा भने नेपालका दुई खेलाडी अटाउन सफल भएका छन् ।

जसमा सीता राना मगर र नेरी थापा छन् । उपकप्तान सीता अलराउण्डरतर्फ ५८ औँ स्थानमा रहन सफल भएकी छन् । ब्याटिङतर्फ सीता ८३ औं स्थानमा रहेकी छिन् । बलिङतर्फ नेरी थापा ९२ औँ स्थानमा रहेकी छन् ।