पोखरामा फ्रेन्चाइज च्याम्पियनसीप पीपीएल–२ को तयारी

विराटनगर टाइटन, बुटबल ब्लास्टर्स, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स, र पोखरा पल्टनले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
असाेज २७, २०७६, सोमबार

पोखरा । एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरी क्रिकेटको फ्रेन्जाइज च्याम्पियनसीप संचालनमा आउँदैैछ ।

आगामी कार्तिकको २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिता संचालनमा आउने भएको हो । एसीसी फोटो अवार्ड जितेको पोखरा रंगशालाभित्रको क्रिकेट मैदानमा दोस्रो संस्करणको पीपीएलको लागि आवश्यक तयारी शुरु गरिएको छ । एक महिनाभित्रमा क्रिकेट मैदानको मर्मत सम्भार गर्नेगरी काम शुरु गरिएको छ । मर्मत सम्भारको जिम्मेवारी पोखराका क्युरेटर प्रदीप राउतलाई दिइएको छ ।

आउट फिल्ड भन्दा पनि पहिला पिच नै बनाउनुपर्ने राउतले औंल्याए । उनले भने, ‘दुईवटा पिच क्ले हुन्छ । बाँकी दुई पिच भने हल्का हरियो हुने छ । त्यसै अनुसार काम शुरु गरिएको छ ।’

राउतका अनुसार आउट फिल्डको लगभग तयारी जस्तै भइसकेको छ । आउट फिल्डको घाँस काटेर लेभलिङ गर्ने काम गरिएको उनले सुनाए । ‘केही ओरालो भएको ठाँउमा माटो भनेर सम्याउने छौ,’ उनले भने, ‘माटो भरिएको ठाँउमा हरियो बनाउन नियमितजसो वाटरिङ (पानी सिंचित) गरिने छ ।’

पहिलो संस्करणबाट अथाह उत्साह र क्रिकेटको क्रेज बढाएको पीपीएलको दोस्रो संस्करण पनि उस्तै हुने आशा र विश्वास धेरैले गरेका छन् । पहिलो संस्करणको उपाधि पोखरा पल्टनले उचालेको थियो । फ्रेन्चाइज क्रिकेटको इतिहासमै सर्वाधिक पुरस्कार राशीको प्रतिस्पर्धा हेर्न पोखरेली क्रिकेटप्रेमी ब्यग्र प्रतीक्षामा छन् ।

क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा सञ्चालित प्रतियोगितामा दर्शकको लागि आवश्यक सिटसहितको प्यारापिट समेत बनाउने योजना छ । गत वर्ष पहिलो संस्करणमा मैदान निर्माणमा खर्च बढी गरिएको थियो । यस संस्करणको खर्च भने त्यत्ति हुने देखिदैन् । जिल्ला खेलकुद विकास समितिको १० लाख रुपैयाँ र कास्की जिल्ला क्रिकेट संघको ९१ हजार रुपैयाँको लागतमा मैदानको वरिपरी माटो भरेर सम्याउने काम गरिसकिएको छ । झाडी बुट्यान सबै फालिएको छ । मैदानलाई फराकिलो बनाउने काम जारी छ ।

विराटनगर टाइटन, बुटबल ब्लास्टर्स, चितवन राइनोज, धनगढी ब्लुज, काठमाडौं रोयल्स, र पोखरा पल्टनले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् । ती कम्पनीले केही दिनभित्रैमा अब खेलाडीमाथि बोली लगाउनेछन् । गत वर्ष पोखरा पल्टनले दुई घरेलु खेलाडीलाई अनुबन्धन गरेको थियो । यो वर्षपनि निरन्तरता दिने अपेक्षा गरिएको छ ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पोखरा आयोजना हुने पीपीएलले क्रिकेटको विकास र विस्तारमा महत्वपूर्ण टेवा दिने बताए । उनले पीपीएलले पोखरालाई स्पोर्ट्स् सिटीको रुपमा अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।