पोखरा अन्तर्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको तयारी पूरा, पोखराकै पर्यटन खेलकुदमा नयाँ आयाम

बुधबार विहान पोखराको फेवाताल किनार बाराहीघाटदेखि शुरु भएर बाराहीघाटमै अन्त्य हुने ४२.२ किलोमिटर दूरीको क्रस कन्ट्री दौडमा करिब १ सय ५ जना खेलाडीहरु सहभागी हुनेछन्, नेपालको तीन विभागीय र स्थानीय क्लब सहित २५ टिम र चीनबाट २ वटा टिम गरी २७ टिमले क्रस कन्ट्री दौडमा प्रतिस्पर्धा गर्नेछन्

जनसम्मत
असाेज २८, २०७६, मंगलवार

पोखरा । पहिलो पटक पोखरामा हुन लागेको अन्तराष्ट्रिय स्तरको क्रस कन्ट्री दौड प्रतियोगिताको तयारी पूरा भएको छ ।

पोखराको बैदामस्थित बाराहीघाटबाट बुधबार विहान शुरु हुने अन्तर्र्राष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । क्रस कन्ट्री दौडको संपूर्ण तयारी पूरा भएको प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले पत्रकार सम्मेलनमा बताए ।

संयोजक पालिखेका अनुसार प्रतियोगितामा सहभागि टिम तथा इन्डिभिजूअल धावकहरुको दर्ता र सुरक्षा तथा रुटका संपूर्ण तयारीहरु सकिएको छ । दौडमा सहभागी चिनिया टोली पोखरा आइसकेका छन् । चीनबाट ३० जना धावक र संचार माध्यमका पत्रकार, अफिसियल, स्पोर्ट्स् ब्युुरो गरी ६० जनाको टोली पोखरा आइसकेको संयोजक पालिखेले जनाए । चीनको समाचार एजेन्सी सिन्ह्वाका प्रतिनिधि समेत दौडको प्रचार प्रसारका लागि पोखरा आएको संयोजक पालिखेले जानकारी दिए ।

पोखराको फेवाताल किनार बाराहीघाटदेखि शुरु भएर बाराहीघाटमै अन्त्य हुने ४२.२ किलोमिटर दूरीको क्रस कन्ट्री दौडमा करिब १ सय ५ जना खेलाडीहरु सहभागी हुने पालिखेले बताए । नेपालको तीन विभागीय र स्थानीय क्लब सहित २५ टिम र चीनबाट २ वटा टिम गरी २७ टिमले क्रस कन्ट्री दौडमा प्रतिस्पर्धा गर्ने संयोजक पालिखेले जनाए ।

क्रस कन्ट्री दौडको टिम इभेन्ट अन्तरगत एउटा टिममा ३ जना धावकहरु अनिवार्य हुनुपर्नेछ । त्यसका लागि २ जना पुरुष र १ जना महिला अर्थात २ जना महिला तथा १ जना पुरुषको टिम बनाउनुपर्र्ने अनिवार्यता छ । व्यक्तिगत रुपमा समेत दौडमा सहभागिता जनाउन पाइनेछ ।

‘लभ फर रन’ को नारा दिइएको पोखरा इन्टरनेशनल माउन्टेनियरिङ क्रस कन्ट्री रेस–२०१९ को प्रतियोगिता पोखरा उद्योग वाणिज्य संघ र चीनको कुन्मिङ माउण्टेनियरिङ एण्ड एक्स्प्लोरेसन एशोसिएसन (केएमइए) ले पहिलो पटक आयोजना गर्न लागेको हो । धावकहरुले २२ किलोमिटर दौड १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङबाट क्रस कन्ट्री दौड पूरा गर्नुपर्ने हुन्छ । पोखरा उपत्यकाको मट्टीखान र पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म धावकहरु दौडनेछन् । दौडका रुटहरुमा ७ वटा चेकप्वाइन्टहरु रहनेछन् ।

क्रस कन्ट्री दौडका लागि चीनको जिआओजी माउन्टेनियरिङ रेस’ को जस्तै रुट तयार गरिएको कास्की जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष यामबहादुर गुरुङले बताए । प्रतियोगिताका प्राविधिक संयोजक समेत रहेका गुरुङले भने, ‘पोखरामा हुने क्रस कन्ट्री दौडका लागि ४२.२ को दूरी निश्चित गरिसकेका छौं । धावकहरु दौडने रुट र चेकप्वाइन्टहरुलाई व्यवस्थित गरेका छौं । रुटहरुमा एरोहरुको व्यवस्था गरेका छौं ।’

‘क्रस कन्ट्री दौडका लागि तय गरिएको रुट सम्पन्न गर्न करिब ५ घन्टासम्म लाग्न सक्ने आयोजकको अनुमान छ । दौडमा प्रथम, द्वितिय र तृतिय हुने टिमका नेपाली खेलाडीले चीनको कुनमिङ शहरमा आयोजना हुने एक सय किलोमिटरको ‘जिआओजी’ माउण्टेनियरिङ रेस’मा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

आगामी नोभेम्बरको अन्तिममा उक्त जिआओजी माउन्टेनियरिङ रेस हुदैछ । जिआओजी रेसलाई वर्षेनी नियमित रुपमा आयोजना गरिदैं आएको छ । उक्त रेस दुई दिनमा पूरा हुन्छ ।

पोखराको खेलकुदका लागि यस क्रस कन्ट्री दौड नौलो आयाम हुने संयोजक पालिखेको भनाई छ । गत वर्षदेखि नै यस प्रतियोगिताको तयारी थालिएको पालिखेले बताए । तयारी पूरा नभएकै कारण गत वर्ष क्रस कन्ट्री दौड गर्न नसकिएको पालिखेले प्रष्ट पारे ।

पालिखेले भने, ‘पोखरामा पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगिता यहाँको लागि मेघा इभेन्ट हुनेछ । जसले पोखरालाई नै नयाँ आयाम थपिदिनेछ । प्रतियोगिताले यहाँको खेलकुद र एडभेञ्चर स्पोर्ट्स् टुरिजमका लागि सघाउनेछ । भिजिट नेपाल २०२० लाई समेत यस्ता प्रतियोगिताले सफल बनाउने आशा गरेका छौं ।’

दौडमा सहभागी खेलाडीहरुको खानपान र बसोबासका लागि पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघले गर्नेछ ।

प्रतियोगिताका लागि ३४ लाख ६० हजार खर्च लाग्ने पालिखेले बताए । उनका अनुसार हालसम्म प्रतियोगिताका लागि एक लाखमात्रै संकलन भएको जनाए । प्रतियोगितालाई नाफामूलक नभई प्रचारात्मक अभियानका रुपमा लगिएको पालिखेको भनाई थियो ।

पोखरा उद्योग वाणिज्य संंघका अध्यक्ष दामु अधिकारीले प्रतियोगितालाई आगामी वर्षदेखि निरन्तरता दिइने जनाए । प्रतियोगिताका स्वास्थ्य संंयोजक शंकर भण्डारीले खेलाडीहरुको स्वास्थ्य र संभावित दुर्घटनाका लागि ५ एम्बुलेन्स र स्वास्थ्यकर्मी सहितको टोली तयारी अवस्थामा रहने बताए ।

प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले प्रबद्र्धन गरेको छ । त्यस्तै, एथ्लेट सोसाइटी संघ काठमाण्डौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लब पोखरा लगायतका सामाजिक संघसंस्थाको सहयोग रहेको छ ।

दौडको रुट र चेकप्वाइन्ट

 

पोखराको बाराहीघाटबाट क्रस कन्ट्री दौड शुरु हुनेछ । त्यसपछि, राष्ट्रबैकचोक, ड्यासमइड, डेभिसफल, तिवेटियन क्याम्प, फुर्सेखोलासम्म दौडनुपर्ने हुन्छ । फुर्सेखोलमा पहिलो चेकप्वाइन्ट हुनेछ । त्यहाँ एउटा टिमका लागि एउटा साइकलहरुको व्यवस्था गरिएको हुन्छ । एउटा टिमको तीनै जना त्यहाँ पुगेपछि मात्रै साइकल रेस शुरु हुन्छ । जसमा एक जनाले साइकल रेस र दुई जना दौडिनुपर्ने हुन्छ ।

त्यसपछि, कमेरा, राम्दी हुँदै मट्टीखानस्थित रिसोर्टमा अर्को दोस्रो चेकप्वाइन्ट हुन्छ । त्यहाँको रिसोर्टमा खेलाडीहरुले विश्राम सहित खानपान गर्नेछन् । मट्टीखानबाट रामकोटमा तेस्रो चेकप्वाइन्ट बनाइएको छ । कुभिण्डे भञ्ज्याङसम्म साइक्लिङमा क्रस कन्ट्री दौड हुन्छ । कुभिण्डे भञ्ज्याङलाई चौथो चेकप्वाइन्ट बनाइएको छ । टिमले साइकललाई त्यहीँ छाडेर पुनः दौडनुपर्ने हुन्छ ।

उल्लेरी हुँदै खरीखानी, पैयुँ चौतारी, ओखलेडाँडा भँयरस्थानलाई पाँचौ चेकप्वाइन्ट बनाइएको छ । त्यसपछि कालावाङ, मोतिराजचोक, स्वाँरा, लुकुमस्वाँरा, तल्लागाउँ (गौरी प्रावि), ढुङ्गेपानी, शान्तिस्तुपा पार्किङमा छैटौं चेकप्वाइन्ट राखिएको छ । ब्यक्तिगत रुपमा दौडनेहरुको अन्तिम बिन्दु शान्तिस्तुपा हुनेछ । ब्यक्तिगत रुपमा दौडनेहरुका लागि त्यहाँ कार्यक्रमको आयोजना गरिनेछ ।

स्तुपाबाट अनदुडाँडा हुँदै लिचिबोटमा अन्तिम चेक प्वाइन्ट राखिएको छ । जुन चेकप्वाइन्टबाट डुंगाको व्यवस्था गरिएको हुन्छ । डुंगामार्फत फेवातालमा बोटिङ गरेर बाराहीघाटसम्मको लागि क्रस कन्ट्री दौडका लागि रुट तय गरिएको छ ।