विभागीय सशस्त्र प्रहरी बलको एपीएफले जित्यो पोखरा क्रस कन्ट्री

‘लभ फर रन’ को नारा दिइएको उक्त स्पर्धामा एपीएफका गणेश ठकुरी, सन्तोषबिक्रम बिष्ट इन्द्रकला नेम्बाङले निर्धारित ४२.२ किलो मिटरको दूरीलाई ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रस कन्ट्री दौड जितेका हुन्

नारायण शाही
असाेज ३०, २०७६, बिहीवार

पोखरा । विभागीय सशस्त्र प्रहरी बलको एपीएफले ‘पोखरा अन्तराष्ट्रिय माउन्टेनियरिङ क्रस कन्ट्री दौड जितेको छ ।

पहिलो पटक पोखराको खेलकुदमा मेघा इभेन्टका रुपमा आयोजना गरिएको क्रस कन्ट्री दौडमा एपीएफ प्रथम हुन सफल भएको छ ।

‘लभ फर रन’ को नारा दिइएको उक्त स्पर्धामा एपीएफका गणेश ठकुरी, सन्तोषबिक्रम बिष्ट इन्द्रकला नेम्बाङले निर्धारित ४२.२ किलो मिटरको दूरीलाई ४ घण्टा १७ मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रस कन्ट्री दौड जितेका हुन् ।

पोखरा उद्योग वाणिज्य संघ र चीनको कुन्मिङ माउन्टेनियरिङ एण्ड एक्स्प्लोरेसन एशोसिएसन (केएमइए) ले पहिलो पटक संयुक्त आयोजना गरेको क्रस कन्ट्रीको दौड पोखराको बैदामस्थित बाराहीघाटबाट शुरु भएको थियो ।

धावकहरुले बाराहीघाटबाट दौड शुरु गरि राष्ट्रबैकचोक, ड्यासमइड, डेभिसफल, तिवेटियन क्याम्प, फुर्सेखोला, कमेरा, राम्दी, मट्टीखान, रामकोट, कुभिण्डे, उल्लेरी, खरीखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतिराजचोक, स्वाँरा, लुकुमस्वाँरा, तल्लागाउँ (गौरी प्रावि), ढुङ्गेपानी, शान्तिस्तुपा पार्किङ, स्तुपा, अनदुडाँडा, लिचिबोट हुँदै फेवातालमा बोटिङ गरेर बाराहीघाटसम्मको लागि क्रस कन्ट्री दौड गरेका थिए ।

उक्त स्पर्धामा नेपालको गुरिल्ला ट्रेल समुहका दुर्गाराज बुढा, दामोदर बुढामगर र रसिला तामाङ दोस्रो भए । उनीहरुले निर्धारित दूरी ४ घण्टा १८ मिनेट २३ सेकेण्डमा पूरा गरे ।

चीनको काइनेटिक टिम तेस्रो भए । काइनेटिकका चेङ इझेन, पाङ वि झु र लाइ यु जुनले निर्धारित दूरी ४ घण्टा २४ मिनेट ३३ सेकेण्डमा पूरा गरे ।

त्यसैगरी, नेपालको अन्नपूर्ण समूह क्रस कन्ट्रीमा चौथो भए । अन्नपूर्णका जीवन लामा, सौरभ राई र प्रतिभा श्रेष्ठले निर्धारित दूरी ४ घण्टा ५६ मिनेट ४५ सेकेण्डमा पूरा गरे । सहभागिताको हिसावले नेपालको तर्फबाट अन्नपूर्ण टिम तेस्रो बनेको हो ।

नेपालको तर्फबाट सहभागीमध्ये पहिलो, दोस्रो र तेस्रो स्थानमा आउन सफल टोलीले नोभेम्बरको अन्तिममा चीनको कुन्मिङ शहरमा हुने १ सय किलोमिटर दूरीको जिआओजी माउन्टेनियरिङ रेसमा सहभागिता जनाउन पाउनेछन् ।

क्रस कन्ट्रीको ४२ दशमलव २ किलोमिटर दूरीको दौडमध्ये धावकहरुले २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १२ सय मिटर बोटिङ गरेर दौड पूरा गरेका थिए । पोखरा उपत्यकाको मट्टीखान र पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म धावकहरु दौडिएका थिए । दौडको रुटभित्र ७ वटा चेक प्वाइन्टको व्यवस्था गरिएको थियो ।

क्रस कन्ट्रीको इन्डिभिजूअलतर्फ चिनियाँ धावकहरु हावी भए । उक्त स्पर्धामा चीनका झाङ झी प्रथम भए इन्डिभिजूूअलतर्फको ३९ किलोमिटरको दूरीलाई झाङ झीले ३ घण्टा ३९ मिनेट २७ सेकेण्डमा पूरा गरेका थिए ।

त्यस्तै, चीनकै चाङ तियान फे दोस्रो भए । चाङ तियान फे ले उक्त दूरी ३ घण्ट ५० मिनेट १२ सेकेण्डमा पूरा गरेका थिए । उक्त स्पर्धामा चीनकै झाओ ग्वान वान तेस्रो भए । झाओ ग्वान वानले ४ घण्टा १ मिनेट १२ सेकेण्डमा पूरा गरे । इन्डिभिजूअलतर्फको क्रस कन्ट्र दौड शान्तिस्तुपासम्म गरिएको थियो ।

विजयी टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन, कार्यक्रम संयोजक विश्वशंकर पालिखे, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीलगायतले पुरस्कार वितरण गरे ।

प्रतियोगितामा नेपालको विभागीय, स्थानीय क्लब र सामाजिक संघसंस्थाको २५ टिम र चिनियाँ दुई टोली गरी २७ टिम सहित १ सय ५ जना धावकहरुले प्रतिस्पर्धा गरेको थियो ।

धावकहरुलाई प्रोत्साहन गर्न विभिन्न ठाउँमा स्थानीय आमा समुह, क्लबलगायतका विभिन्न संघसंस्थाका पदाधिकारीहरुले फुलमाला र अबिरद्वारा खेलाडीलाई स्वागत गरेका थिए । दौडको उद्घाटनअघि हिमाली सांस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

यसअघि, गण्डकी प्रदेशकी सामाजिक बिकास मन्त्री नरदेबी पुनले दौडको उद्घाटन गर्दै यस प्रकारको प्रतियोगिताको नेपाल–चीनबीचको सम्वन्धलाई थप बलियो बनाउने बताइन । हालैमात्र सम्पन्न चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणले दुई देशको मात्र नभई जनताबीच पनि प्रगाढ सम्बन्ध बढाएको मन्त्री पुनले उल्लेख गरिन् ।

क्रस कन्ट्री दौडको संरक्षक रहेको पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरामा यस्ता कार्यक्रमलाई निरन्तरता दिन महानगरले सघाउने प्रतिबद्धता जनाए ।

प्रतियोगिताका संयोजक विश्व शंकर पालिखेले पोखरामा साहशिक खेल पर्यटनको प्रवद्र्धन गर्न, पोखरा ट्रायथलन र क्रस कन्ट्री दौडको प्रमुख गन्तव्यको रुपमा पहिचान गर्न प्रतियोगिताको आयोजना गरिएको बताए । पहिलो पटक आयोजना गरिएको यस प्र्रतियोगितालाई सबै पक्षबाट सहयोग प्राप्त भएको जनाउँदै संयोेजक पालिखेले धन्यवाद दिए ।

आयोजकमध्येका पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी र कुन्मिङ माउन्टेनियरिङ एण्ड एक्स्प्लोरेसन एशोसिएसन (केएमइए) महासचिव झाङ सी लगायतले बोलेका थिए ।

बाराहीघाट चौरमा भएको उदघाटन सत्रको कार्यक्रममा गण्डकी प्रदेश सासंद दिपक कोइराला, पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन, पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ लगायत व्यवसायी, पत्रकार र कलाकार सहित खेलाडीहरुको बाक्लो उपस्थिति थियो ।