म्यानमारसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली टोलीको विदाई

विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेल अगाडि नेपालले म्यान्मारसँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दैछ

जनसम्मत
कार्तिक १८, २०७६, सोमबार

पोखरा । म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि म्यान्मार जान लागेका खेलाडीहरुलाई एक कार्यक्रमबीच विदाई गरिएको छ ।

 एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार लगायत पदाधिकारीले टोलीलाई विदाइ गरे ।

यसअघि, म्यान्मारविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको थियो ।

विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेल अगाडि नेपालले म्यान्मारसँग दोस्रो पटक मैत्रीपूर्ण खेल खेल्दैछ । प्रशिक्षक योहान कालिनले सार्वजनिक गरेको २३ जना खेलाडीको सूचीमा तीन जना नयाँ खेलाडीलाई समावेश गरिएको छ ।

सार्वजनिक गरिएको खेलाडीहरुको सूचीमा चार महिना टिममा नरहेका भरत खवाससँगै सुवास गुरुङ र मिक्चन तामाङलाई समेत अवसर दिइएको छ । गोलकीपर एलन न्यौपानेले समेत टिममा सहभागिता जनाउने अवसर पाएका छन् ।

यसअघि, नेपालका कप्तान रहेका गोलकीपर किरण चेम्जोङ र रोहित चन्दले क्लब फुटबलका कारण म्यान्मारविरुद्धको खेल गुमाउनेछन् । मिडफिल्डर विशाल राई चोटका कारण टिममा परेका छैनन् । त्यस्तै, पूर्व कप्तान विराज महर्जनलाई टिममा समावेश गरिएको छैन । नेपालले नोभेम्बर ७ तारिखमा म्यान्मारविरुद्ध दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

म्यान्मारविरुद्ध मैत्रीपूर्ण खेलका लागि नेपाली टिमको खेलाडीहरु मध्ये गोलकीपरहरुमा विकेश कुथु, विशाल श्रेष्ठ र एलन न्योपाने छन् । डिफेन्डरहरुमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन् ।

मिडफिल्डरहरुमा सुनील बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्चेन तामाङ छन् । त्यस्तै, फरवार्डहरुमा भरत खवास, विमल घर्तीमगर, अविशेष रिजाल र नवयुग श्रेष्ठ छन् ।