गण्डकी प्रदेश प्रमुख बाबुराम कु्ँवरद्वारा नयाँ वर्षको शुभकामना

जनसम्मत
चैत्र ३०, २०७५, शनिबार

पोखरा । गण्डकी प्रदेश प्रमुख बाबुराम कु्ँवरले खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने नयाँ वर्षले छुट्टै मौलिकता, परम्परा र साँस्कृतिक महत्व बोकेको बताएका छन् ।

नयाँ वर्ष २०७६ सालको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दैै प्रदेश प्रमुख कुँवरले यस्तो बताएका हुन् । ‘नेपाल सरकारले नयाँ वर्षलाई विशेष महत्व दिएर सार्वजनिक विदा घोषणा गरेको छ । संसारभरी भिन्न मितिमा मनाउने नयाँ वर्ष आफंैमा उमंग, ऊर्जा र चाहनाको संवाहक हो । हाम्रो देशमा पनि विभिन्न नयाँ वर्ष मनाइन्छ,’ प्रदेश प्रमुख कुँवरले जारी गरेको सन्देशमा भनिएको छ, ‘तीमध्ये वैशाख एक गतेदेखि सुरु हुने विक्रम संवतको नयाँ वर्षले विशेष महत्व राख्छ । नयाँ वर्ष फरक प्रकारको उत्साह एवं विश्वासको क्षणका रूपमा मनाइने नेपाली संस्कृति रहिआएको छ ।’

वसन्त ऋतुको मनोरम दिनहरूसँगै नवीन उल्लास एवं आशा लिएर विक्रम संवतको नयाँ वर्षको आगमन हुने भएकाले यसले नयाँ आशा सञ्चार गराउने भएकाले पुरानो कुरा छाडेर नवीनतातर्फ पाइला चाल्ने सुअवसरका रूपमा नेपालीहरूले नयाँ वर्ष मनाउने संस्कृतिलाई पछ्याएको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

‘नयाँ वर्ष मनाउने सबैको आ–आफ्नै तरिका भए पनि यो उत्सव शुभ होस् भन्ने साझा उद्देश्यका साथ मनाइन्छ’ प्रदेश प्रमुख कुँवरले शुभकामना सन्देश लेख्दै भनेका छन्, ‘यो कुनै पनि संघसस्थाले गरेका वर्ष दिनको कामको समीक्षा पनि हो । त्यसैले यो दिन विगतबाट पाठ सिक्दै वर्तमान राम्रो बनाउन प्रयत्न गरिन्छ ।’

प्रमुख कुँवरले नयाँ वर्षको आगमनसँगै नयाँ सोच, शैली र गन्तव्यसहित अगाडि बढ्नुपर्ने बेला भएकोले हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामनासहित नयाँ वर्ष २०७६ को अवसरमा गण्डकी प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकता एवम् समृद्धिका लागि हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।