कास्की–२ को उपनिर्वाचनमा करणको मूल कमाण्डमा (नेकपा)को परिचालन कमिटी

कास्की–२ को उपनिर्वाचनमा १३ हजार भन्दा बढि मतले विजयी हुने (नेकपा) को दावी

जनसम्मत
कार्तिक २०, २०७६, बुधबार

पोखरा ।  नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीले क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि निर्वाचनको तयारी शुरु गरेको छ ।

आगामी मंसिर १४ गते हुने निर्वाचनमा नेकपाले पार्टीका जिल्ला इञ्चार्ज राजकाजी गुरुङ (करण) को कमाण्डमा निर्वाचन मूल कमाण्ड कमिटी गठन गरेको छ ।

नेकपाले इन्चार्ज करणको नेतृत्वमा यसपटक उपनिर्वाचन लड्ने निर्णय गरेको जनाएको छ ।

कार्तिक १८ गते सम्पन्न ५ औं पूर्ण वैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

जसअनुसार जिल्ला अध्यक्ष कृष्ण थापाको संयोजकत्वमा दुई हजार ६४१ सदस्सीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।

त्यसैगरि, पार्टी प्रदेश कार्यालयको नेतृत्वमा रहने गरी निर्वाचन अनुगमन तथा निर्देशक समिति गठन गर्न प्रदेश कमिटी कार्यालयलाई अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको अध्यक्ष कृष्ण थापाले बताए ।

उनले बैचारिक स्पष्टता, प्रभावकारी परिचालन र आक्रामक प्रचार सहित पार्टीका उम्मेद््वार कमरेड विद्या भट्टराईलाई अत्यधिक बहुमतले विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति परिचालित हुने बताए ।

नेकपाले निर्वाचनलाई लक्षित गरी कार्तिक २३ गते निर्वाचनसँग सम्बन्धित जिल्ला स्तरिय वृहत् कार्यकर्ता प्रशिक्षण भेला पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिब बिष्णु पौडेलको उपस्थितिमा पोखरा सभागृहमा गर्ने भएको छ ।

त्यसैगरि, कार्तिक २४ गते निर्वाचन क्षेत्र नं.२ मा पर्ने ११ वटै वडा निर्वाचन परिचालन समितिको कार्यालयहरु उद्घाटन गर्ने कार्यक्रम छ ।

निर्वाचनलाई व्यवस्थित गर्न विभिन्न २७ उपसमितिहरु गठन गरिएको बताइएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष थापाले आगामी निर्वाचनमा १३ हजार भन्दा बढी मतान्तरले (नेकपा) विजयी बन्ने दावी गरे ।