समयमै १३ औं साग गेम सम्पन्न गर्ने साउथ एसियन ओलम्पियन कमिटीको काउन्सिल र सेफ दि मिसनको निर्णय

नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय काउन्सिलले गरेको हो

जनसम्मत
कार्तिक २४, २०७६, आइतबार

पोखरा । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकले नेपालमा हुने तय भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) निर्धारित समयमा हुने सुनिश्चितता दिएको छ ।

नेपालमा आयोजना हुने १३ औ सागलाई भब्यताका साथ सम्पन्न गर्ने निर्णय काउन्सिलले गरेको हो ।

सरकारले पुर्वाधार निर्माणको काम समयमै सक्ने प्रतिबद्वता जनाएसँगै साग निर्धारित मितिमै हुने पक्का भएको हो । सरकारका तर्फबाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेश सिलवालले प्रतियोगिता अघिनै पुर्वाधार निर्माणको काम सक्ने प्रतिबद्वता बैठकमा जनाए ।

सरकारले पुर्वाधार निर्माणको काम समयमै सम्पन्न गर्न नसक्दा निर्धारित मितिमै साग हुनेमा अन्यौलता देखिएको थियो । सोही कारण तयारीमा समेत सुस्तता देखिएको थियो ।

मंसिरको १५ गते २४ गतेसम्म १३ आंै संस्करणको साग गेम नेपालमा आयोजना हुदैछ । बैठकमा नेपालले प्रतियोगिताको व्यवस्थापन र संचालनको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गर्ने प्रतिबद्वता जनाएसँगै सहभागी सदस्य राष्ट्र समेत साग आयोजनामा विश्वस्त देखिएका थिए ।

प्रतियोगिता आउन झण्डै तीन हप्तामात्र बाँकी रहेको अवस्थामा खेल पूर्वाधार निर्माणको काम सम्पन्न हुन सकेका छैनन् । पोखरा रंगशाला निर्माणाधीन अवस्थामा छ । त्यस्तै, दशरथ रंगशालाको भीभीआईतर्फको छानो अझै काठमाडौं आउन सकेको छैन ।

‘सरकारको तर्फबाट आयोजनामा शंका लिन पर्दैन भनेर प्रतिबद्वता आएको छ । सदस्य राष्ट्रलाई सहभागी हुने तयारी गर्न सरकारले आग्रह गरेको छ ।’ बैठकपछि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘सरकारको प्रतिबद्वतापछि सहभागी राष्ट्र आश्वस्त भएका छन् । सबैले तयारीको कुरा गरेका छन् । बैठकले सबै आशंकालाई प्रस्ट बनाउने काम भएको छ ।’

अध्यक्ष श्रेष्ठका अनुसार अब भब्यसँग साग सम्पन्न गर्ने दिशामा सबै लाग्नुपर्ने बताएका छन् ।

बैठकमा सदस्य सचिव सिलवालले हप्तादिन भित्रमा पुर्वाधार निर्माणको काम सक्ने प्रतिबद्वता बैठकमा राखेका थिए । उनका अनुसार सरकारको प्रतिबद्वताबाट सदस्य राष्ट्र सहमत भएका छन् ।

‘साग आयोजनामा आश्वस्त बनाएका छौ । बाँकी काम सात दिनभित्र सम्पन्न गर्ने प्रतिबद्वता जनाएका छौ,’ उनले भने, ‘साग आयोजना हाम्रो प्रतिबद्वता हो । हुन्छ कि हुदैन भन्ने बिषय उहिल्यै अगाडी छुटिसकेको छ ।’

साग आयोजना अगाडी ओलम्पिक काउन्सिलको दुई दिने बैठक काठमाडौंमा बसेको हो । बैठकले सागको तयारीको समिक्षा गर्दै प्रतियोगिता संचालनका लागि बनेको पुर्वाधारको निरिक्षण समेत गर्नेछ ।

पाकिस्तानमा १४ औं साग

बैठकले १४ औं संस्करणको साग पाकिस्तानमा गर्ने प्रस्ताव गरेको छ । ‘साग आयोजनाको पालो अब पाकिस्तानको रहेको छ ।

हामीले बिधानअनुसार पाकिस्तानलाई पत्र पठाउने छौँ,’ बैठकपछि नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले भने, ‘१३ औं सागअघि उहाँहरुको प्रतिक्रिया हेर्छौ । त्यसपछि त्यहाँको अवस्था हेरेर गर्न नसक्ने हो भने आयोजक राष्ट्र परिवर्तन गर्न सकिन्छ ।’

पाकिस्तानले आयोजना गर्न नसके १४ औं साग श्रीलंका र माल्दिभ्सले संयुक्त रुपमा आयोजना गर्ने दाबी गरेका छन् । बैठकमा सात राष्ट्रका ओलम्पिक कमिटिका अध्यक्षको सहभागिता थियो ।

सागमा ३ सय २४ स्वर्ण  सहित ११ सय ३५ पदक

नेपालमा हुने १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) गेममा कूल ३ सय २४ स्वर्ण सहित ११ सय ३५ पदकका लागि प्रतिस्पर्धा हुने तय भएको छ ।

आयोजक नेपालले निर्धारण गरेको खेल स्पर्धा अनुसार कुल २७ खेलमा ३ सय २४ स्वर्णका लागि सात राष्ट्रले प्रतिस्पर्धा गर्ने तय भएको हो ।

सात राष्ट्र सहभागी ‘सेफ द मिशन’मा नेपालले प्रस्तुत गरेको पदक विवरण अनुसार प्रतियोगितामा ३ सय २४ स्वर्ण, ३ सय २४ रजत र ४ सय ८७ काँस्य पदक समावेश गरिएको छ ।

पदक विवरण अनुसार सबै भन्दा धेरै पौडीमा ३८ र एथ्लेटिक्समा ३६ स्वर्ण रहेका छन् । यस्तै, आर्चरीमा १० स्वर्ण, बास्केटबलमा २, थ्री वाई थ्री बास्केटबलमा २, ब्याडमिन्टनमा ७, बक्सिङमा १६, क्रिकेटमा २, साइकिलिङमा ८, फेन्सिङमा १२, फुटबलमा २, गल्फमा ४, ह्याण्डबलमा २, जुडोमा १५ र कबड्डीमा २ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछन् ।

त्यस्तै, कँरातेमा १९, खो खोमा २, प्यालाग्लाइडिङमा ८, सुटिङमा २०, स्क्वासमा ४, टेबल टेनिसमा ७, टेनिसमा ७, तेक्वान्दोमा २९, ट्रायथलनमा ५, भलिवलमा २, विच भलिबलमा २, भारत्तोलनमा २०, कुस्तीमा २० र उसुमा २२ स्वर्णका लागि प्रतिस्पर्धा हुने तय भएको छ ।