चर्च ब्वाइज पूर्वाञ्चल गोल्डकपको फाइनलमा

पुलिसलाई १–० गोलले स्तब्ध पार्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो

जनसम्मत
कार्तिक २४, २०७६, आइतबार

पोखरा । विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड झापामा जारी हाम्रो अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमलाल राजवंशी रंगशालामा शनिबार पुलिसलाई १–० गोलले स्तब्ध पार्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो ।

चर्च ब्वाइजको जितमा २६ औं मिनेटमा सुनिल खड्काले निर्णायक गोल गरे । भुवन बस्नेतको हेडरलाई पुलिसका गोलरक्षक शत्रुधन चौधरीले फर्काएको रिबाउन्ड बललाई सुनिलले पोस्टको जाली चुमाएका थिए ।

त्यसअघि, पुलिस पेनाल्टीमा गोल गर्न चुकेको थियो । खेलको २३ औं मिनेटमा पुलिसका सुमन लामाले पेनाल्टीमा गोल गर्न सकेनन् । वान भर्सेज वानमा चर्च ब्वाइजका कप्तान विष्णु सुनुवारले सुमनलाई तानेर लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । तर, सुमनको पेनाल्टी प्रहारलाई चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे ।

यस्तै, खेलको ५४ औं मिनेटमा पुलिस १० खेलाडीमा समेटिएको थियो । चर्च ब्वाइजका भुवन बस्नेतलाई लडाएपछि पुलिसका अन्जन राईले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

उपाधिका लागि फाइनलमा चर्च ब्वाइजले त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ । फाइनल सोमबार हुने आयोजकले बताएको छ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछन् ।