साग गेमको तयारी अन्तिम चरणमा : मन्त्री विश्वकर्मा

मन्त्री विश्वकर्माले भने, ‘साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भीरता पूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्छ ।’

जनसम्मत
कार्तिक २४, २०७६, आइतबार

पोखरा । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने स्पष्ट पारेका छन् ।

मन्त्री विश्वकर्माले उक्त प्रतियोगिताको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको समेत विश्वास दिलाए ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले साग प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्ने गरी आफूहरुले दिनरात काम गरिरहेको उल्लेख गरे । उनले मंसिर १५ गतेको साग गेमको मिति तलमाथि नहुने दाबी गरे ।

‘सागको लागि करिब करिब तयारी पूरा हुने दिशामा छ । यो गेम भव्य रुपमा र सफलतापूर्वक सम्पन्न हुने विश्वास दिलाउन चाहन्छु,’ उनले भने, ‘साग राष्ट्रिय प्रतिष्ठासँग जोडिएको विषय भएकोले खेलप्रेमी र सरोकारवाला सबैले गम्भीरता पूर्वक आ–आफ्नो ठाउँबाट दायित्व निर्वाह गर्नुपर्छ ।’

आफूहरुले ७/८ महिनामै पोखरा रंगशाला निर्माण काम सम्पन्न गर्न गइरहेको पनि मन्त्रीको भनाई छ । उनले भने, ‘मंसीर पहिलो हप्ताभित्र निर्माण काम सम्पन्न हुन्छ । दशरथ रंगशालाको पनि निर्माण सम्पन्न हुँदैछ । सातदोबाटोमा पनि सम्पन्न हुँदैछ । तेक्वान्दो, कराँते र लङ टेनिसलगायतका नयाँ पूर्वाधार पनि सातदोबाटोमा निर्माण गरेका छौं ।’

साग आयोजना गर्नको लागि निकै जोखिम र चूनौतिहरु रहेपनि आफूहरुले ती सबै चुनौती र जोखिमहरुको सामना गरेर अघि बढेको उनले सुनाए । उनले भने, ‘म हिरोइज्ममा विश्वास गर्दिन् । काममा विश्वास गर्ने मान्छे हुँ । खुरु–खुरु काम गरिरहेको छु ।’

‘दशरथ रंगशालाको प्याफिट मंसीरको पहिलो हप्ताभित्रै सम्पन्न भइसक्छ,’ मन्त्री विश्वकर्माले भने, ‘परिस्थिति हाम्रो काबुमा छ ।

पूर्वाधारको कुनै समस्या छैन् । अहिलेको कामको प्रगति हेर्दा विश्वासको आधार तय भएको छ । हिटिङ स्विमिङपूल निर्माणको काम पनि अन्तिम चरणमा पुगेकाले कुनै समस्या हुँदैन । थोरैभन्दा थोरै लगानीमा धेरै उपलब्धी हासिल गर्नेगरी काम गरेका छौं ।’

सागको लागि नेपाली खेलाडीहरुलाई प्रशिक्षणदेखि व्यवस्थापकीय सबै काम भइरहेको पनि उनले सुनाए । त्यस्तै, सागको लागि विदेशी पाहुनाहरुलाई आमन्त्रण गर्ने काम पनि भैसकेको उनले जनाए ।